• १३ साउन २०८१, आइतबार

हेलिकोप्टरबाट चोरी शिकारीको सामग्री ढुवानी

blog

अमृतप्रसाद पौडेल
म्याग्दी, असार २१ गते ।
हिमाली जिल्ला म्याग्दीको बेनीमा आयोजित एक कार्यक्रममा चोरी, शिकारी तथा वनजन्य सामग्रीहरु हवाई मार्गबाट ढुवानी हुने गरेकोमा सरोकारवालाले सचेत गराएका छन् ।

डिभिजन वन कार्यालय म्याग्दीको आयोजनामा भएको चोरी, शिकारी तथा चोरी, निकासी नियन्त्रणसम्बन्धी सरोकारवालासँगको अन्तरक्रिया तथा बैठकमा प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले यस्तो बताउनुभएको हो । हेलिकोप्टरको प्रयोग गरेर चोरी शिकारी एवम् वनजन्य जडिबुटी ढुवानी गरेको सुन्नमा आएको प्रजिअ रानाको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘‘जिल्लाको सुरक्षा निकाय तथा अन्य कसैलाई पनि जानकारी नै नदिई हुने हेलिकोप्टर चार्टरबाट अवैध सामग्रीको ढुवानी हुने गरेको भन्ने सुनिएको छ, तर जिल्लामा नियन्त्रणको प्रावधान नहुँदा समस्या छ । वन कार्यालयले नीति निर्माण तहमै पहल गरेर त्यस्तो तस्करी नियन्त्रणका लागि नीति नै बनाएर अगाडि बढ्नुको विकल्प छैन ।’’

सरोकारवालाको बैठकमा राज्यले नीति नबनाउँदा ढुङ्गा खानीबाट निकालिएका ढुङ्गाको प्रयोगमा समस्या भएकोले स्थानीय तहले उचित कार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइएको थियो । स्थानीय तहले कार्यविधि बनाएर उचित प्रक्रिया पूरा गरेर अगाडि बढेको खण्डमा व्यावसायिक रुपमा काम हुने भएकाले ढुङ्गा उत्खननका लागि प्रक्रिया अगाडि बढाउनतर्फ सोच्नुपर्ने जनाइएको थियो ।

डिभिजन वन कार्यालय म्याग्दीका निमित्त प्रमुख मनोज रानाभाटले जिल्लामा चोरी, शिकारी नियन्त्रणका लागि स्थानीय समिति बनाएरै अगाडि बढ्ने बताउनुभयो । अहिले कालीजको चोरी तथा शिकारी हुने गरेको र ढुङ्गा तस्करीलगायतका मुद्दा अदालतमा दर्ता भएर अगाडि बढेको बताउनुभयो । अवैध रुपमा ढुङ्गा तस्करी गर्न लागेका सवारीसाधन अहिले पनि नियन्त्रणमा लिएर मुद्दा चलाइएको निमित्त प्रमुख रानाभाटले बताउनुभयो ।

निमित्त प्रमुख रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले गर्नुभएको थियो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घ, जिल्ला अदालत, सरकारी वकिल, सुरक्षा समितिका सदस्यहरु, नेपाल पत्रकार महासङ्घका प्रतिनिधिलगायतको उपस्थिति थियो ।