• २६ कात्तिक २०८२, बुधबार

मतदातामा चुनावी उत्साहसँगै संशय

blog

जिल्ला निर्वाचन कार्यालय, नवलपुर ।

बोमलाल गिरी

नवलपुर, कात्तिक २६ गते । सिन्धुलीबाट बसाइँ सरी नवलपुरको गैँडाकोट आउनुभएका २६ वर्षीय लालबहादुर तामाङ घर बनाउने काम गर्नुहुन्छ । बिहानदेखि बेलुकासम्म ढुङ्गा, माटो, गिट्टी, बालुवासँग खेल्ने तामाङ फुर्सदको बेला समाचार र सामाजिक सञ्जाल नियाल्नुहुन्छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा उहाँ पनि सक्रिय रुपमा सहभागी हुनुभयो । 

यति ठूलो आन्दोलन भएपछि त अब मुलुक पनि बन्छ होला, राजनीतिक नेतृत्वमा परिवर्तन आउला, देश भ्रष्टाचारमुक्त होला र सुशासन कायम होला भन्ने ठूलो अपेक्षा थियो उहाँमा । तर सोचेअनुसारको परिवर्तन नहुने हो कि भन्ने चिन्ताले तामाङलाई पिरोलिरहन्छ । 

हुपसेकोट–२ का २० वर्षीय जेनजी युवा राजन गुरुङको सोचाइ पनि तामाङको भन्दा फरक छैन । अहिलेसम्म मतदान नगरेका गुरुङ यो पटक भने भोट हाल्नका लागि भर्खरै मतदाता नामावलीमा नाम दर्ता गराउनुभएको छ । 

सबै दल सहभागी भएर फागुन २१ गते तोकिएको निर्वाचन सफल भइदिए मुलुक फेरि सही बाटोमा आउँथ्यो कि भन्ने उहाँलाई लागेको छ । तर केही दलले फेरी त्यही असफल भएको प्रतिनिधि सभा पुन: स्थापनाको माग उठाउँदा भने उहाँमा संशय उत्पन्न भएको छ ।

नवलपुरका जेनजी अगुवा आयुष ढकालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन जेनजीको तर्फबाट आफ्ना उम्मेदवार खडा गर्ने र २०८४ मा हुने स्थानीय तह र प्रदेश सभा निर्वाचनमा वडा वडामा जेनजी र जेनवाई समूहबाट गैर राजनीतिज्ञलाई उम्मेदवार बनाउने तयारी गरिरहेको बताउनुभयो । 

तर यत्रो आन्दोलनबाट पनि जेनजीहरु, सहिद तथा घाइतेका परिवारलाई नेतृत्व तहमा नलैजानु दुखद भएको भन्दै जेनजीको आवरणमा आन्दोलनलाई अपहरण गर्ने प्रयास गरिएको ढकालको भनाइ छ।

मध्यविन्दु बहुमुखी क्याम्पस समाजशास्त्रका प्राध्यापक करुण लम्साल पनि अपेक्षाअनुरुप परिवर्तन संस्थागत हुन नसकेको तर्क गर्नुहुन्छ । मूलधारका राजनीतिक पार्टीहरु आन्तरिक विवादमा रुमलिइरहेको, कम्युनिष्ट पार्टीहरुमा जोडिने र विघटन हुने क्रम चलिरहेको अवस्था भए पनि चुनाव नै नहुने अवस्था भने नरहेको लम्सालको भनाइ छ ।

‘‘दलहरु विनाको लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन तर राजनीतिक दलहरुले बिगतका गल्तीहरु नदोहोर्‍याउने गरी आत्मालोचना गरेर चुनावलाई आत्मसात गर्दै आफूहरु अनुमोदिन हुनुपर्छ भनेर आत्ममूल्याङ्कन गरिसकेको अवस्था देखिंदैन, यसले चुनावमा अझै संशय निम्त्याइरहेको छ,’’ प्राध्यापक लम्सालले भन्नुभयो, ‘‘तर चुनावमा जानुपर्छ, चुनाव सफल पार्नुपर्छ, त्यसको विकल्प छैन ।’’

अहिलेको सरकारले जेनजी, राजनीतिक दलका प्रतिनिधि, जातिगत समूहलगायत सरोकारवाला सबै पक्षलाई समेटेर सर्वपक्षीय गोलमेच सम्मेलन गरेर जाँदा चुनाव गराउन सजिलो हुने लम्सालले बताउनुभयो ।

थपिए २१ सय मतदाता

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लामा साढे २१ सयभन्दा बढी मतदाता थपिएका छन् । असोज १० गतेदेखि सुरु भएको मतदाता नामावली सङ्कलनमा एक हजार तीन सय पाँच पुरुष र ८ सय ५५ महिला गरी दुई हजार एक सय ६० मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बाबुराम आचार्यले जानकारी दिनुभयो । 

उहाँका अनुसार दैनिक दुई सयभन्दा बढी मतदाताले नामावली दर्ता गराइरहेका छन् ।  यसरी नाम दर्ता गराउनेमा अधिकांश जेनजी युवा छन् । ‘‘सुरुमा मतदाता नामावलीमा नाम दर्ता गराउने चाप कम थियो, विस्तारै चाप बढ्दै गएको छ,’’ आचार्यले भन्नुभयो ।

अनलाइनमार्फत फारम भरेर आएका मतदातालाई आवश्यक कागजपत्र जाँच गरी फोटो र औंठाछापको प्रविधि अनलाइनमार्फत प्रविष्ट गर्न समय लाग्ने गरेको तथा चुनावी तयारी र मतदाता नामावली सङ्कलन एकैपटक गर्नुपरेकाले जनशक्ति पनि अभाव रहेको आचार्यले बताउनुभयो ।