• २६ कात्तिक २०८२, बुधबार

फोहोरको दिगो व्यवस्थापन खोजिने

blog

वीरेन्द्रनगर नगरपालिका–१ मा रहेको कृष्ण सामुदायिक वन । तस्बिर : रजनी योगी

बुलबुले समाचारदाता 

सुर्खेत, कात्तिक २६ गते । फोहोर व्यवस्थापनका लागि प्रदेश सरकारले ‘थ्री आर’ योजना कार्यान्वयन गर्न लागेको छ । कर्णाली प्रदेशका स्थानीय तहका लागि फोहोर व्यवस्थापन ठुलो चुनौती बनेपछि प्रदेश सरकारले महत्वाकाङ्क्षी र रणनीतिक पहल थालेको हो । ‘रिड्युस, रियुज र रिसाइकल’ योजना अन्तर्गत फोहोरमैला व्यवस्थापनमा दिगो समाधान खोज्ने तयारी गरिएको प्रदेश सरकारले जनाएको छ । 

रिड्युस अर्थात् सकेसम्म फोहोर उत्पादनलाई नै घटाउन पहल हुने छ । त्यसपछि फोहोरलाई वर्गीकरण गरेर रियुज अर्थात् पुनः प्रयोग गर्न सकिने योजना पनि सरकारले अघि सारेको छ भने रिसाइकल प्रक्रियाबाट प्रशोधन गरेर प्रयोग गर्न सकिने फोहोरलाई पनि उपयोगमा ल्याउने योजना बनाइएको छ । यसले दीर्घकालीन रूपमै फोहोर व्यवस्थापन गर्न सकिने अपेक्षा गरिएको छ । 

कर्णालीका प्रमुख सहरमा फोहोर व्यवस्थापन प्रमुख चुनौती बनिरहेको छ । अन्य सहरको तुलनामा प्रदेश राजधानी वीरेन्द्रनगरमा यो समस्या अझ विकराल छ । त्यसैले फोहोर व्यवस्थापनमा ‘थ्री आर’ रणनीति कार्यान्वयन गरिने जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले जनाएको छ । फोहोर व्यवस्थापनमा प्रदेशले अभिभावकीय र सहजकर्ताको भूमिका खेल्दै स्थानीय तहलाई एकीकृत प्रणालीमा जोड्ने गरी योजना निर्माण गर्न लागिएको छ । अव्यवस्थित फोहोर विसर्जनलाई नियन्त्रण तथा नियमन गरी जनस्तरमा पर्न सक्ने महामारीजन्य रोग रोकथाम तथा नियन्त्रणका अभियानमूलक कार्यक्रम कार्यान्वयन गरिने मन्त्रालयका प्रवक्ता पदम देवकोटाले बताउनुभयो । प्रदेश सरकारले स्पष्ट कार्यविधि बनाएर कुन पालिकाले कस्तो अवस्थामा सहयोग पाउने भन्ने मापदण्ड तोक्नुपर्ने तथा पालिकालाई प्राविधिक मार्गदर्शनका लागि एक समर्पित एकाइ स्थापना गर्नुपर्ने सुझाव सरोकारवालाले दिने गरेका छन् । 

स्थानीय तहमा फोहोर व्यवस्थापन चुनौती बन्दै गएको छ । सुर्खेतको वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी भएसँगै यहाँ जनघनत्व बढ्दो छ । जनसङ्ख्याका साथसाथै सवारीसाधनको चाप पनि बढिरहेको छ तर यहाँ सोही अनुसारको सरसफाइ हुन नसक्दा फोहोर व्यवस्थापन चुनौतीको विषय बनेको छ । जीर्ण सडक, अव्यवस्थित फुटपाथ र फोहोर व्यवस्थापनमा नगरपालिकाले प्रभावकारी रूपमा काम गर्न सकेको छैन । 

वीरेन्द्रनगर नगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान नदिँदा बस्तीमै दुर्गन्ध फैलिएको छ । नगर क्षेत्रबाट सङ्कलित फोहोर जथाभाबी फाल्दा वराहताल गाउँपालिका–१० को सिमलचौरलगायतको बस्ती दुर्गन्धित बन्दै गएको हो । बस्तीनजिकै फोहोर जलाउँदा आफूहरूको स्वास्थ्यमा प्रत्यक्ष असर परेको स्थानीय दुर्गबहादुर लामिछानेले बताउनुभयो । जथाभाबी फोहोर फालिँदा दुर्गन्ध फैलिएको र त्यसमाथि प्लास्टिक र बोतल जलाउने गरिएको उहाँको भनाइ छ । प्रभावित क्षेत्र वराहताल–१० का वडाध्यक्ष हरिलाल सलामीले वीरेन्द्रनगरको फोहोरले आफ्नो वडामा दुर्गन्ध फैलिएको बताउनुभयो । वीरेन्द्रनगर नगरपालिकाले हेपाहा प्रवृत्ति देखाएको भन्दै उहाँले जनस्वास्थ्यको सवालमा गम्भीर बन्नुपर्नेसमेत बताउनुभएको छ ।