कालीकोट समाचारदाता
कालीकोट, कात्तिक २६ गते । ग्रामीण विद्युतीकरण परियोजनाका कामलाई प्रभावकारी र समयमा सम्पन्न गर्न स्थानीय तहसँग सहकार्य र समन्वय गर्ने निर्णय गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलको अध्यक्षतामा बसेको बैठकले अहिले जारी नेपाल विद्युत् प्राधिकरण र एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैङ्कको सहकार्यमा सञ्चालन भइरहेको ग्रामीण विद्युतीकरण परियोजनाका काम गुणस्तरीय ढङ्गले सम्पन्न गर्न निर्देशनसमेत दिइएको छ । परियोजनाअन्तर्गत जिल्लाका आठ वटा पालिकामा विद्युतीकरणको काम भइरहेको हो ।
यसका लागि प्रत्येक कार्यक्षेत्रमा स्थायी रूपमा प्रतिनिधि रहने व्यवस्था मिलाउन निर्माण व्यवसायीलाई निर्देशन दिइएको छ । स्थानीय आवश्यकता र माग अनुसार पोल लाइनको एलाइन्मेन्ट मिलाउँदै विद्युत् पूर्वाधार व्यवस्थापनका कार्य अघि बढाउन दिर्नेशन दिएको हो ।
नेपाल सरकारले विभिन्न निकायबाट प्राप्त भएका पोलको विवरण सङ्कलन गरी नेपाल विद्युत् प्राधिकरण र कालीकोट वितरण केन्द्रको समन्वयमा लाइन विस्तार कार्य तुरुन्त सुरु गर्न सम्बन्धित पक्षलाई ताकिता दिने निर्णय पनि बैठकले गरेको छ । जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर उज्ज्वलबहादुर शाहीले विद्युत् विस्तारको कामको जिम्मा लिएका ठेकेदार कम्पनीले काममा लापर्बाही गरेको गुनासोपछि सबै स्थानीय तहका जनप्रतिनिधिलाई समेत राखेर निर्णय भएको बताउनुभयो ।
उहाँले निर्माण भइरहेका ठाउँमा साइट अफिस र ठेकेदार कम्पनीका प्रतिनिधिलाई स्थायी रूपमा जिल्लामा रहन निर्देशन दिइएको बताउनुभयो । यसले गर्दा कामको गुणस्तर र कार्यसम्पादनमा ढिलाइ नहोस् भन्ने उद्देश्य रहेको उहाँको भनाइ छ ।