• १७ कात्तिक २०८२, सोमबार

रियल म्याड्रिडको फराकिलो अग्रता

blog

रियल म्याड्रिडका किलियन एम्बापे स्पेनी लिग अन्तर्गत भ्यालेन्सियाविरुद्धको खेलअघि गत सत्रमा युरोपेली फुटबलमा सर्वाधिक गोलकर्ता बनेपछि हासिल गरेको गोल्डेन बुट प्रदर्शन गर्नुहुँदै । तस्बिर : एपी

म्याड्रिड, कात्तिक १७ गते । किलियन एम्बापेले दुई गोल गरेपछि स्पेनी लिगमा रियल म्याड्रिडले शनिबार राति भ्यालेन्सियालाई ४–० ले पराजित गरेको छ । यस नतिजासँगै रियल म्याड्रिडले शीर्ष स्थानमा आफ्नो अग्रता सात अङ्कले फराकिलो पारेको छ । भिलारियल दोस्रो स्थानमा रहेको छ तर तेस्रो स्थानमा रहेको बार्सिलोनाले इलचेलाई हराएर म्याड्रिडको अग्रता पाँच अङ्कमा झार्न सक्ने छ । भिलारियलले पनि रायो भेलाकानोलाई ४–० ले हरायो । 

एम्बापेले सोही दिन गत वर्ष युरोपेली फुटबलमा सर्वाधिक गोलकर्तालाई दिइने गोल्डेन बुट अवार्ड हात पार्नुभएको थियो । एम्बापेले भ्यालेन्सियाविरुद्ध दुई गोल गरेर सो अवार्डको खुसी पनि मनाउनुभयो । यस सत्रमा पनि एम्बापेले देश र क्लबका लागि १७ खेलमा २१ गोल गरिसक्नुभएको छ । यो लय कायम रहेमा एम्बापेले अर्को वर्ष बालन डी ओर जित्ने सम्भावना पनि रहने छ । एम्बापेले अहिलेसम्म विश्वका सर्वश्रेष्ठ फुटबलरलाई प्रदान गरिने बालन डी ओर जित्न सक्नुभएको छैन ।

भ्यालेन्सियाविरुद्ध एम्बापेले खेलको १९ औँ मिनेटमा पेनाल्टीमा पहिलो गोल गर्नुभयो । उहाँले ३१ औँ मिनेटमा रियल म्याड्रिडको अग्रता दोब्बर पार्नुभयो । अनय गोल युड बेलिङ्घम र अल्भारो कारेरासको नाममा रह्यो । रियल म्याड्रिडले पूर्वार्धमै अर्को पेनाल्टी पनि पाएको थियो तर भिनिसियस जुनियरले पेनाल्टीमा प्रहार गरेको बल युलेन अगिरेजाबालाले विफल पार्नुभयो ।

यसै गरी एन्टोनियो ग्रिज्म्यानले ला लिगामा आफ्नो दुई सयौँ गोल गरेको खेलमा एट्लेटिको म्याड्रिडले सेभियालाई ३–० ले पराजित ग¥यो ।

चार हारपछि लिभरपुलको जित

इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुलले एस्टन भिल्लालाई २–० ले हराएको छ । मोहम्मद सलाहले लिभरपुलका लागि २५० औँ गोल गर्नुभयो । अर्को गोल रायन ग्राभेनबर्चले गर्नुभयो ।

लिभरपुलले चार हारपछि जित हात पारेको हो ।  आर्सनलले पनि बर्नलीलाई २–० ले पराजित गरेर शीर्ष स्थानमा आफ्नो अग्रता सात अङ्कले फराकिलो पारेको छ । यस सत्रमा सबै खाले प्रतियोगितामा आर्सनलको यो १५ खेलमा १३ औँ जित हो । आर्सनलका लागि भिक्टर ग्योकेरेस र डेक्लान राइसले गोल गर्नुभयो । 

अन्य खेलमा चेल्सीले टोटेनहामलाई १–०, फुल्हमले वोल्भरह्याम्पटनलाई ३–०, क्रिस्टल प्यालेसले ब्रेन्टफर्डलाई २–० र ब्राइटनले लिड्सलाई ३–० ले हराए । म्यान्चेस्टर युनाइटेडले भने नटिङ्घम फरेस्टसँग २–२ ले बराबरीमा खेल्यो । एपी