मुम्बई (भारत), कात्तिक १४ गते । भारतका भन्सार अधिकारीहरूले मुम्बईको विमानस्थलमा तस्करी हुँदै ल्याइएका दुर्लभ जनावर जफत गरेका छन् । जाँच गरिएको झोलाभित्र दुई वटा लुप्तप्राय ‘सिल्भरी लङ्गुर’ फेला परेपछि एक जना विमान यात्रुलाई पक्राउ गरिएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।
भन्सार विभागका अनुसार ती जनावर मलेसियाबाट थाइल्यान्ड हुँदै भारत ल्याइएका थिए । यात्रुलाई वन्यजन्तु तस्करीमा संलग्न ‘अन्तर्राष्ट्रिय सिन्डिकेट’ को सदस्य रहेको शङ्का गरिएको छ । विशेष खुफिया सूचनाका आधारमा बिहीबार मुम्बई विमानस्थलमा उनको झोलाको तलासी लिँदा दुई लङ्गुर भेटिएका थिए ।
तीमध्ये एक लङ्गुर मृत फेला परेको थियो भने अर्को जीवित भेटिएको थियो । भन्सार विभागले सेयर गरेको भिडियोमा बाँचेको लङ्गुरलाई अफिसरको हातमा झुकेको अवस्थामा देख्न सकिन्छ, जसले आफ्नो अनुहार हातले ढाक्दै बिस्तारै हल्लिरहेको दृश्य मन छुने रहेको छ । भन्सार अधिकारीहरूले जनावरलाई टोकरीमा लुकाएर राखिएको र ती भारतमा बिक्रीका लागि ल्याइएको बताए । अहिले जीवित लङ्गुरलाई पशु चिकित्सकको निगरानीमा राखिएको छ ।
वन्यजन्तु संरक्षण निकाय ‘ट्राफिक’ले यसअघि विदेशी घरपालुवा जनावरको व्यापारद्वारा प्रेरित तस्करीको ‘अत्यन्त चिन्ताजनक वृद्धि’ भएको चेतावनी दिएको थियो । पछिल्ला साढे तीन वर्षमा मात्रै थाइल्यान्ड-भारत हवाई मार्ग हुँदै सात हजारभन्दा बढी जीवित र मृत जनावर जफत गरिएको ट्राफिकको तथ्याङ्कले देखाउँछ । सिल्भरी लङ्गुर इन्डोनेसियाको जाभा टापुका वर्षावनमा बसोबास गर्ने सानो प्राइमेट हो ।
इन्टरनेसनल युनियन फर कन्जरभेसन अफ नेचरका अनुसार जङ्गलको क्षति, सिकार र घरपालुवा जनावरको अवैध व्यापारका कारण उनीहरू विलुप्तिको जोखिममा परेका छन् । हाल विश्वभर बाँचेका सिल्भरी लङ्गुरको सङ्ख्या अनुमानित रूपमा केवल दुई हजार ५०० देखि चार हजारबिच रहेको बताइन्छ ।
मुम्बई विमानस्थलमा पछिल्ला महिनामा वन्यजन्तु तस्करीका घटना लगातार बढ्दै गएका छन् । यही महिनाको सुरुमा भन्सार अधिकारीहरूले सर्प, कछुवा र र्याकुन बोकेका एक तस्करलाई नियन्त्रणमा लिएका थिए । यसअघि जुन महिनामा थाइल्यान्डबाट आएका दुई यात्रुबाट भन्सारले १०० भन्दा बढी जीवित जनावर-जसमा विषालु भाइपर, छेपारो, सनबर्ड र रूख चढ्ने पोसमसमेत समावेश थिए ।
फेब्रुअरीमा पनि इन्डोनेसिया, मलेसिया र थाइल्यान्डका जङ्गलमा पाइने पाँच सियामाङ लङ्गुरसहितका बाँदर बोकेर ल्याइरहेका एक तस्करलाई यही विमानस्थलमा समातिएको थियो । भन्सार विभागका अधिकारीहरूले वन्यजन्तु तस्करीविरुद्ध निगरानी झन कडा बनाइएको बताउँदै यस्तो अपराधमा संलग्न समूहलाई कानूनीरूपमा कडा कारबाही गरिने चेतावनी दिएका छन् । रासस/एएफपी
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                