• १४ कात्तिक २०८२, शुक्रबार

गाइघाट झरनामा साहसिक खेल कायाकिङ

blog

बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–१ मा पर्ने गाइघाट झरना । तस्बिर : नवराज नेपाली

नवराज नेपाली

बागलुङ (गलकोट), कात्तिक १४ गते । बागलुङको एक मनोरम झरना हो ‘गाइघाट झरना’ । झरनाबाट खसेको कञ्चन पानी तालमा भरिएर मात्रै ताराखोलामा खसेको दृश्यले सबैलाई लोभ्याउँछ ।

बागलुङको गलकोट र ताराखोलाको सङ्गमस्थलमा रहेको आकर्षक गाईघाट झरनालाई शाहसिक पर्यटनसँग जोड्न थालिएको छ । गाइघाट झरनाबाट खसेको पानीको तालमा शाहसिक खेल मध्येको एक कायाकिङ गर्ने व्यवस्था मिलाइएको छ । झरनामा परिक्षणका लागि अहिले १० वटा कायाकिङ (सानो डुङ्गा) उपलब्ध गराइएको छ । फेवातालमा निकै चर्चा पाएको कायाकिङ सानो आधुनिक डुङ्गा हो ।

ताराखोला गाउँपालिका–१ मा पर्ने गाइघाट झरना गलकोट तर्फ बगेको ताराखोलामा मिसिँदै आएको छ । आन्तरिक पर्यटकको रोजाईमा पर्दै आएको झरनामा पुगेका अधिकांश पर्यटकहले कायाकिङको मजा लिन थालेका छन् । सडकको स्तरोन्नतिसँगै मध्यपहाडी लोकमार्गका पर्यटकहरु समेत त्यता पुग्न थालेका छन् ।

बाह्रै महिना सफा पानी बग्ने यो झरनाको सौन्दर्य हरेक याममा एउटै देखिने गर्दछ । झरना खसेको तालमा कायाकिङको व्यवस्था गरेपछि झरना हेर्न पुगेका पर्यटकलाई थप मनोरन्जन दिन थालेको छ । दसैंबाट गाइघाट झरनामा कायाकिङको परिक्षण भइरहेको आधीबेरी एडभेन्चरका सञ्चालक प्रकाश सुनुवार बताउनुहुन्छ । गलकोट नगरपालिका–६ निवासी सुनुवार साहसिक पर्यटनको क्षेत्रमा गाउँमै लगानी गर्नका लागि तत्पर भएको बताउनुहुन्छ ।

उहाँले ताराखोलाको गाइघाट क्षेत्रमा साहसिक पर्यटनको केन्द्र स्थापना गर्ने उदेश्यले लगानी गर्न थालेको बताउनुभयो । आँधीबेरी एडभेन्चरबाट गाइघाट झरनाभन्दा माथी भुतेको गल्छीमा कायाकिङ गर्ने र रक कलाइमिङ गर्ने उदेश्य राखिए पनि परिक्षणका लागि गाइघाट झरनामा कायाकिङ थालिएको सुनुवार बताउनुहुन्छ । “गाउँपालिकाबाट अध्ययनका लागि अनुमति मागिएको छ, खोलामाथिको ढुङ्गा खोपेर हिड्ने र त्यहाँ पुगेर कायाकिङको आनन्द लिने गरी अध्ययन भइरहेको छ” सुनुवारले भन्नुभयो “साहसिक पर्यटनको ताराखोला गाउँपालिका–१ स्थित ताराखोला नदीको खोच निकै सम्भावना युक्त स्थान देखियो, शुरुवाती चरणमा चार करोड सम्मको लागतमा ढुङ्गाको पहाडमा चड्ने, भुतेको गल्छी र गाइघाट झरनामा कायाकिङ गर्ने लगयातका शाहसिक पर्यटनको क्षेत्रमा काम गर्ने योजना छ।”

दसैँमा झरनाको तालमा थालिएको कायाकिङको राम्रो प्रचार भइरहेको उहाँको अनुभव रहेको छ । उहाँलाई साहसिक पर्यटनमा लगानी गर्नका लागि कायाकिङमा देखिएको आकर्षणले हौसाएको बताउनुभयो । अध्ययन पश्चात् खोचमा रहेको पहरामा रड गाडेर हिड्न सक्नेगरी साहसिक पर्यटनको काम अनौठो हुने सुनुवारको भनाइ छ ।

गाइघाट झरनालाई ताराखोला गाउँपालिकाले पूर्वाधार निर्माण, झरनामा पुग्ने पुल निर्माण, झरना वरपरका क्षेत्रमा सोलार बत्तीसमेत जडान गरिएको छ । अहिले झरनाको तालमा कायाकिङ गरेको एक घण्टाको रु‍. ५०० लिइँदै आइएको छ । गलकोटका स्थानीय महेश कुमार श्रेष्ठले गाइघाट झरनामा परिवर्तन भइरहको बताउनुभयो । पूर्वाधार निर्माणसँगै कायाकिङले पर्यटकलाई थप आर्कषित गर्दै आएको उहाँले बताउनुभयो । झरनामा हरियाली पार्क तथा त्यहाँ पुग्ने पदमार्ग निर्माण गरिएको छ ।