• १२ असोज २०८१, शनिबार

अछाममा पाँच दलद्वारा यातायात बन्द

blog

शिवराज ढुङ्गाना 

अछाम, असार १९ गते । बालक हत्या घटनामा संलग्नलाई कार्वाहीको माग गर्दै अछाममा पाँच दलले जिल्लाभर चल्ने सवारी साधनमा रोक लाएका छन् । यातायातमा रोक लाउँदा जिल्लाभित्र र जिल्ला बाहिर चल्ने सवारी साधन नचल्दा यात्रुहरु मर्कामा परेका छन् ।

जिल्लाभित्रका कतिपय स्थानका यात्रुहरु बाध्यताका कारण हिँडेरै गन्तव्यतिर गइरहेका छन् । बन्दको पहिलो दिन सवारी साधन नचल्दा नजिक वा टाढा जाने यात्रुलाई सास्ती भएको छ । अछामको मङ्गलसेन, साँफेबगर, कमलबजार, जयगढबाट छुट्ने लामा दूरीका यातायात र जिल्लाभित्र चल्ने यातायात रोकिएको एमाले अछामका सचिव भीमबहादुर रावलले जानकारी दिनुभयो । 

साँफेबगरमा सडकमा टायर बालेर बन्द गरिएको छ । सवारी साधनबाहेक बजार, शैक्षिक संस्था भने खुला छन् । पीडितलाई न्याय र दोषिलाई कार्वाहीको माग गर्दै एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा र विप्लव नेतृत्वको नेकपाले सबै सरकारी र निजी यातायात बन्द गराएको छ । 

पञ्चदेवल विनायक नगरपालिका –४ कालिकास्थानका १६ वर्षीय विनोद शाहीको हत्या भएको एक महिना भइसक्दा समेत किटानी जाहेरीका व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान नभएको भन्दै दलहरुले यातायातमा रोक लाएकाे बताएका छन् । पाँच दलले आइतबार र सोमबार दुई दिन यातायात बन्द गर्ने संयुक्त प्रेस विज्ञप्ति जारी गरेर जानकारी गराएका छन् ।  

हत्यामा संलग्न भएको भन्दै पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउनेसहित १३ जना विरुद्ध पीडित पक्षले प्रहरीमा किटानी जाहेरी दिएका छन् । घटनाको गहिरो रुपमा अनुसन्धान भइरहेको अछाम प्रहरीले बताएको छ । कुकुरसहितको सीआइबी र अन्य प्रहरी परिचालित भएर घटनाको अनुसन्धान भइरहेको अछाम प्रहरीको भनाइ छ ।

विनोद जेठ १७ गते बेलुकी घरबाट वेपत्ता भएका थिए । जेठ २१ गते पञ्चदेवल क्याम्पस नजिक मध्यपहाडी सडकभन्दा तलपट्टीको खोचमा मृत अवस्थामा भेटिएका थिए । पीडित पक्षको किटानी जाहेरी प्रहरीले बुझेपछि मात्र जेठ २५ गते घटनास्थलबाट शव उठाइएको थियो ।