गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक ३ गते । तिहारको भाइटीकाका दिनबाहेक तिहार बिदाभर मालवस्तुको भन्सार जाँचपास गर्ने प्रयोजनका लागि आवश्यक सबै बैङ्क तथा वित्तीय संस्था खुला रहने भएका छन् । नेपाल राष्ट्र बैङ्कले तिहारको भाइटीकाका दिनबाहेक तिहार बिदाभर सबै बैङ्क तथा वित्तीय संस्था खुला राख्न निर्देशन दिएको हो । राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागले एक सूचना जारी गर्दै तिहारभर बैङ्क खुला राख्न निर्देशन दिएको हो । बैङ्क तथा वित्तीय संस्थालाई मालवस्तुको भन्सार जाँचपास गर्ने प्रयोजनका लागि आवश्यक बैङ्किङ सेवा सुचारु राख्न निर्देशन गरिएको सूचनामा उल्लेख छ ।
सरकारको अर्थ मन्त्रालय, भन्सार विभागको अनुरोधमा व्यापार सहजीकरण, आपूर्ति प्रणाली सुचारु राख्न र सेवा प्रवाहको निरन्तरता कायम गर्न इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थालाई भन्सारसम्बन्धी बैङ्किङ सेवा सुचारु गर्ने व्यवस्था मिलाउन सूचनामा भनिएको छ ।
यसअघि भन्सार विभागले असोज ३० गते राष्ट्र बैङ्कलाई पत्र पठाएर व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सुचारु राख्न र सेवा प्रवाहको निरन्तरता कायम गर्न मालवस्तुको भन्सार जाँचपास गर्ने प्रयोजनका लागि आवश्यक बैङ्किङ सेवा सुचारु गर्न अनुरोध गरेको थियो ।