गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक ३ गते । असोज १८ गतेदेखिको अविरल वर्षा तथा बाढीपहिरोका कारण भएको भौतिक तथा अन्य क्षतिको हालसम्ममा तीन अर्ब २६ करोड ७६ लाख रुपियाँ बराबरको बिमा दाबी परेको छ ।
राजधानीलगायत देशका विभिन्न क्षेत्रमा असोज १८ गतेयताको अविरल वर्षा तथा बाढीपहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको शुक्रबारसम्म सो परिमाणमा दाबी परेको हो ।
सञ्चालनमा रहेका १३ वटा निर्जीवन बिमा कम्पनी र दुई वटा लघु निर्जीवन बिमा कम्पनीमा परेका कुल ७०४ वटा बिमा दाबीबापत सो बराबरको बिमा दाबी परेको नेपाल बिमा प्राधिकरणले जनाएको छ ।
बिमा दाबीमध्ये अहिलेसम्म सबैभन्दा धेरै सम्पत्ति बिमामा ३६४ वटा दाबीबापत दुई अर्ब ७० करोड ६९ लाख रुपियाँ बराबरको दाबी परेको छ । त्यस्तै इन्जिनियरिङ तथा ठेकेदार जोखिम बिमामा ८४ वटा दाबीबापत ४८ करोड चार लाख रुपियाँ बराबरको दाबी परेको प्राधिकरणले जनाएको छ ।
यस्तै कृषि तथा बाली बीमामा २०९ वटा दाबीबापत चार करोड ३२ लाख रुपियाँ, मोटर बिमा (निजी) मा ३३ वटा दाबीबापत दुई करोड ५२ लाख, मोटर बिमा (सार्वजनिक) मा नौ वटा दाबीबापत एक करोड पाँच लाख र अन्य बिमामा दुई वटा दाबीबापत १२ लाख रुपियाँ बराबरको दाबी परेको प्राधिकरणको तथ्याङ्क छ ।