• ३२ जेठ २०८१, शुक्रबार

शास्त्रीको लेखकीय दस्तावेज

blog

हेमराज पाण्डे 

समय समयमा सग्ला लेखहरूको सँगालो प्रकाशित भइरहनु नेपाली साहित्यको उन्नयनमा सुखद पक्ष हो । २०७९ साल जेठमा प्रकाशित ‘हरिहर शास्त्रीका सिर्जना’ पुस्तक यसको उदाहरण हो । पूर्वीय दर्शनमा आधारित आध्यात्मिक चेतना जगाउने १७ वटा कृतिहरूको सबल सिङ्गो माला हो यो कृति । वि.सं. १९८० मा काठमाडौँमा जन्मिएर २०३४ सालमा दिवङ्गत हुनुभएका श्रद्धेय शास्त्रीका यस कृतिमा कविता सङ्ग्रह चार, खण्डकाव्य सात, महाकाव्य तीन, जीवनी रहेका छन् । कृति शास्त्रीको लेखकीय दस्तावेजको पहिचान बनेको छ । कृतिमा सङ्ग्रहित रचना वि.सं. २०२३ देखि २०३० सम्म जम्मा सात वर्षको छोटो अन्तरालमा गरिएका हुन् । 

आनन्द प्राप्तिको व्यञ्जन पस्किँदै पाठकीय मनलाई पूर्वीय दर्शनको बाटोमा अगाडि बढ्न हौसाएका छन् शास्त्रीले । महाकाव्यमा ‘उषा–विनोद’, ‘रम्भा’ र ‘घाम झुल्कियो’ तीन वटा कृति छन् । यसैगरी ‘अनभिज्ञता’, ‘शोभा–शशी’, ‘देवी’, ‘सपनाको पूmल’, ‘सिक्री’, ‘समय’ र ‘सगरमाथा’ सात खण्डकाव्य छन् । 

‘घाम झुल्कियो’, महाकाव्य स्वतन्त्रता, प्रजातन्त्र र उज्ज्वल भविष्यको देदीप्यमान चिराक बनेर उदाएको महाकाव्य हो । उज्यालोलाई खुसी, प्रशन्नता र अँध्यारोलाई विस्मात्, पीडाको प्रतीक मानिन्छ । यस महाकाव्यमा विछोड, विस्मात्, अँध्यारो क्षणलाई यसरी व्यक्त गरिएको छ ः 


कोही यहाँ भोग्दछ दुःखलाई


आपत्तिमा आँसुहरू बहाई ।

यहाँ सङ्कलित खण्डकाव्यमा विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालमा रहनुले नेपालप्रति विश्वमानवको आकर्षण बढेको व्यहोरा सगौरव प्रस्तुत गरिएको छ । विश्वकै अग्लो कैलाश धुरीको करेसाबारीमा घामको पहिलो झुल्कोले पोत्दा जन्मिने घामछायाको लुकामारी खेलको विचित्र क्रिडाले पाठकीय मनलाई कुत्कुत्याउँछ । अँध्यारोलाई पछार्दै सूर्यले विजय उत्सव मनाउन पुग्नु नै अविवेकमाथि विवेक र असत्यमाथि सत्यको विजय मानिन्छ । यही नै खण्काव्यको सन्देश हो । 

यसैगरी जन्मजात कर्मबाट ठगिएर आ–आफ्नो ऊर्जाशील श्रम, सीप, जोस, जाँगर विदेशी भूमिमा सुम्पिनु विवश नेपाली नियति बन्नुपरेको करुणामय सन्देश नै ‘शोभा–शशी’ खण्डकाव्यको सार हो । एकातिर बैँसालु ग्रामीण युवतीहरू परदेशी श्रीमान्को घर आगमनको सुखद पक्षको प्रतीक्षामा मन कुण्ठित बनाउँदै स्वदेशमा झोक्राएर रात बिताउँछन् भने अर्कातिर विदेशी रणभूमिमा रगतको आहुति दिएर अकालमै युवकको दुःखद निधन हुन्छ । यसरी युवाकयुवतीबीच विछोडमा कथा टुङ्ग्याएर पाठकीय सहानुभूति बटुल्नु 

‘शोभा–शशी’ खण्डकाव्यको विशेषता हो । शास्त्रीको लेखकीय चमत्कार हो । नेपालको अमर साधकहरूको अतुलनीय साधनाद्वारा समृद्ध साहित्य उत्थानको युगमा जन्मिनु हुने हरिहर शास्त्री भाग्यमानी लेखक हुनुहुन्छ । २०३६ सालभन्दा अघिसम्म क्याम्पस, सरकारी कार्यालयहरूमा राजनीतिक दुर्गन्ध नपैmलिएको सङ्लो परिवेशकै परिणाममा भूपि शेरचन, गोपालप्रसाद रिमाल, शङ्कर लामिछाने, विष्णुदेवी वाइबा, मोदनाथ प्रश्रित, विजयबहादुर मल्लजस्ता होनहार साधकहरूले आआफ्नो लेखनीलाई एकचित्तले राष्ट्रप्रति सुम्पिए । त्यो स्वतन्त्र लेखनीको सुन्दर जग आदिकवि भानुभक्त आचार्यदेखि मोतीराम भट्ट, लेखनाथ पौड्याल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, लैनसिंह वाङ्देल, माधव घिमिरेको तपस्याले जोगाएको थियो । त्यही सग्लो, सुन्दर विजाङ्कुरित बाटिकामा हरिहर शास्त्रीले पनि आफ्नो लेखनी क्षमता सुम्पिँदै नेपाली साहित्यको फाँटमा उर्वरता थप्ने अवसर पाउनु भयो । 

चिल्लो पोस्टकार्डको हरित प्रतीक बनेर सर्वत्र हरियाली छाएको असारे मकैबारीमा मालिकले पोकेमकै, बन्सोझार बेडाएर सग्लो मकैलाई हुर्कन, फल्न र पाक्न सुझाएजस्तै हरिहर शास्त्रीका झन्डै आधा दर्जन कृतिभित्रको अमूल्य गुदी ग्रन्थको सूक्ष्म अध्ययनद्वारा आमपाठकहरू लाभान्वित हुनुस् भन्ने शुभकामना छ । मीठा मीठा छन्द कविताका जादुमय शिल्पी राष्ट्रकवि माधवप्रसाद घिमिरेले जीवनभर महाकाव्य लेख्नु भएन तर कालजयी खण्डकाव्यबाटै महाकविको उचाइ नजिक आफूलाई स्थापित गर्नुभयो । उहाँको ‘एउटै सानो कृतिले पूर्ण संसार देऊ’ भन्ने अमर वाणीको सारतìव पनि यही हो । 

साहित्यकार ठाकुर शर्माको धारणा, विनयकुमार शर्मा नेपालको भूमिका, सम्पादक सदस्यहरूको सामूहिक भनाइसहित हरिहर शास्त्रीका विविध मौलिक कृतिहरूको तस्बिर आवरणद्वारा सिँगारिएको धेरै मोटो आध्यात्मिक दर्शनको अमर ठेली नेपाली साहित्य भण्डारलाई पूर्णता दिने थप खुट्किलो हो । उहाँको जीवनीका साथै उपन्यास, कविता सङ्ग्रहहरू, खण्डकाव्यहरू, महाकाव्यहरूको यो दस्तावेज सिङ्गो खुराक अध्ययनबाट आमपाठकहरू अभैm लाभान्वित हुनेप्रति पूर्ण विश्वास लिन सकिन्छ । शब्दार्थ प्रकाशन प्रकाशक रहेको यस कृतिको मूल्य एक हजार दुई सय रुपियाँ रहेको छ । ८६६ पृष्ठ यसमा रहेका छन् ।