• १३ साउन २०८१, आइतबार

छोडेन असारे विकासले

blog

सडक डिभिजन कार्यालय खुर्कोट सिन्धुलीमार्फत मर्मत भइरहेको मन्थली–सेलेघाट सडकखण्ड ।

नवराज श्रेष्ठ

रामेछाप, असार १८  गते  । असार लागेपछि मात्रै बल्ल विकास निर्माण, गोष्ठी, भेला गर्ने चटारो सरकारी निकायमा सुरु हुन्छ । निर्माण व्यवसायीलाई पनि असारमा काम नसके भुक्तानी नहुने भएपछि असारे कामको चटारोले छोप्छ ।असारे कामको चटारो यो पटक पनि प्रायः सबै विकासे अड्डामा देखिएको छ । त्यसमा पनि सबैभन्दा बढी चटारो सडकको काम गर्ने सरकारी निकाय र ठेकेदारलाई छ ।

असारमा हतार हतार काम गर्दा गुणस्तरीय काम नहुने र काम नसकिँदै अधिकांश ठाउँमा बाढी पहिरोले क्षति पु-याउने समस्या नियति बनिसकेको छ । अहिले रामेछाप सदरमुकाम मन्थली–सेलेघाट सडकखण्डको निर्माणको काममा त्यस्तै चटारो देखिन्छ । असारे विकासमा सडक डिभिजन कार्यालय खुर्कोटका अधिकृतलाई त मस्ती नै छ तर सवारीचालक र यात्रीले भने सास्ती खेप्नु परेको छ । 

यो सडकमा अहिले ठाउँ–ठाउँमा कटिङ तथा जाली भर्ने र नाला बनाउन तथा मेसिनरी पर्खाल लगाउने काम चलिरहेको छ । हिउँदभरि कुनै वास्ता नगर्नेहरू कामको चटारोमा छन् । असारको बेलामा सडक निर्माणको काम हुँदा सडक चिप्लो र जोखिमपूर्ण हुने, काम भएको बेलामा घण्टौँ रोकिएर बस्नु पर्दा गन्तव्यमा पुग्नसमेत समस्या हुने गरेको यात्रु र सवारीचालकको गुनासो छ ।

लामो समयदेखि भत्काएर छाडिएको सडकमा असार लागेपछि काम थालिएकाले यात्रा गर्न निकै जोखिम रहेको मन्थलीका टेकबहादुर बोहरा बनाउनुहुन्छ । वर्षाको बेलामा बाटो हिलो बनाइएको छ, माटो थुपारिएको छ, चिप्लिएर गाडी खस्छ कि भन्ने डर हुन्छ, उहाँले भन्नुभयो । 

भत्किएको लामो समयसम्म केही वास्ता नगर्ने र जब असार लाग्छ अनि हुने निर्माणको कामले सडकमा सवारी चलाउन निकै समस्या भएको ओखलढुङ्गा लिखु गाउँपालिका–१ का सवारीचालक राजकुमार भुजेलले बताउनुभयो । सडक डिभिजन कार्यालय खुर्कोट सिन्धुलीबाट समयमा नै कार्यादेश नआउँदा असारको बेलामा कामको चटारो भएको निर्माण व्यवसायी कर्णबहादुर माझी बताउनुहुन्छ । असारको बेला काम गर्दा काम गर्ने मान्छे पनि पाइँदैन र काम पनि राम्रोसँग गर्न पाइँदैन, उहाँले भन्नुभयो । 

कैलाश कन्स्ट्रक्सन, गढवारी निर्माण सेवा, सेतीदेवी निर्माण सेवा, दिनेश निर्माण सेवालगायत निर्माण व्यवसायीलाई निर्माणको ठेक्का दिएको सो सडकको निर्माण कार्य असार २५ गतेसम्म सक्नुपर्ने सडक डिभिजन कार्यालय खुर्कोटका कामु डिभिजन प्रमुख लक्ष्मणदत्त जोशीले बताउनुभयो । कार्यालयअन्तर्गत पटके मर्मतमा तीनवटा, विशेष मर्मतमा दुईवटा, राजमार्ग स्तरोन्नति तथा पुनस्र्थापना दुईवटा र ट्राफिक सुरक्षाअन्तर्गत दुईवटा निर्माणका काम चलिरहेका छन् ।