• १३ साउन २०८१, आइतबार

प्रदेश सरकार परिवर्तनको तयारी

blog

मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ ।

राममणि दाहाल

हेटौँडा, असार १८ गते । बागमती प्रदेश सरकारको नेतृत्व सहमतिअनुसार परिवर्तन नभएपछि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाली कांग्रेसले हस्ताक्षर सङ्कलन गरेका छन् । गठबन्धनका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले माथिको निर्देशनमा मात्र मुख्यमन्त्री छाड्ने बताएपछि माओवादी केन्द्र र कांग्रेसका प्रदेश सभा सदस्यको हस्ताक्षर सङ्कलन बुधबारबाट सुरु गरिएको हो ।

सत्तारूढ गठबन्धन माओवादी केन्द्र, कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीच गत कात्तिकमा छ महिनापछि कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको थियो । गत कात्तिक ११ गते मुख्यमन्त्री बन्नुभएका पाण्डेले छ महिना पुगेपछि कांग्रेसलाई छाड्नुपर्ने पूर्वसहमति थियो तर बजेट पारित भएपछि पूर्वसहमतिअनुसार मुख्यमन्त्री बन्ने प्रयासमा कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ रहनुभएकोमा मुख्यमन्त्री पाण्डेले केन्द्रमा नेताहरूको सहमतिमा गठबन्धन बनेकोले केन्द्रको निर्णय र निर्देशनमा मात्र मुख्यमन्त्री छाड्ने बताउँदै आउनुभएको छ ।

मुख्यमन्त्री पाण्डेले बिहीबार सामाजिक सञ्जाल ट्विटरमार्फत बागमती प्रदेश सरकार परिवर्तनलाई लिएर उठेका सवालको निरूपण पाँच दलीय गठबन्धनको केन्द्रीय बैठकबाट हुने बताउनुभएको छ । प्रदेश सभाबाट बजेट पारित भएसँगै मुख्यमन्त्री पाण्डेले सरकार परिवर्तनका लागि हस्ताक्षर सङ्कलन भएको सार्वजनिक भएपछि ट्विटरमार्फत आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो ।

उहाँले ट्विटरमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भन्नुभएको छ, “बागमती प्रदेशमा सरकार परिवर्तनसँग जाडेर आएका प्रश्नको निरूपण पाँच दलीय गठबन्धनको केन्द्रीय बैठकबाट हुनेछ ।” उहाँले अगाडि भन्नुभएको छ, “गठबन्धनको मूल स्पिरिट कायम रहने गरी आगामी कदम तय हुनेछ ।”

यसैबीच कांग्रेस संसदीय दलका नेता बानियाँले सहमतिअनुसार नै कार्यान्वयन गर्न माओवादी केन्द्र र कांग्रेसले हस्ताक्षर सङ्कलन सुरु गरेको दाबी गर्नुभएको छ । नेपाल प्रेस युनियनको हेटौँडामा हुने केन्द्रीय महाधिवेशनको सम्पर्क कार्यालय उद्घाटपछि पत्रकारहरूको प्रश्नको जवाफ दिँदै उहाँले हिजो सहमतिमा मुख्यमन्त्री बनाइएको थियो ।

त्यही सहमतिअनुसारको प्रक्रिया अगाडि बढाउन र प्रदेश प्रमुखकोमा जान हस्ताक्षर सङ्कलन गरिएको बताउनुभयो । एकीकृत समाजवादीलाई अलग राखेर माओवादी केन्द्र र कांग्रेसको मात्र हस्ताक्षर सङ्कलन किन गरेको भन्ने सन्दर्भमा उहाँले भन्नुभयो, “एकीकृत समाजवादी सँगसँगै हस्ताक्षर भइरहेको छ,” तपाईंहरूले देख्न पाउनुहुन्छ सुन्न पाउनुहुन्छ । 

मुख्यमन्त्री सहमति कार्यान्वयनमा बाधक नभएको, हस्ताक्षर सङ्कलन अभियान र प्रक्रिया भएको, सहमतिसहितको प्रक्रिया हो भन्दै उहाँले मुख्यमन्त्रीले राजीनामा दिनसमेत बहुमत सदस्यको हस्ताक्षर लिएर प्रदेश प्रमुखकोमा जान हस्ताक्षर सङ्कलन गरिएको बताउनुभयो । सहमति कार्यान्वयन गर्न मुख्यमन्त्री बाधक बन्नुभएको छैन भन्दैै कांग्रेस संसदीय दलका नेता बानियाँले अब कांग्रेस नेतृत्वमा सरकार चाँडै बन्ने बताउनुभयो ।

प्रदेश सभामा नेकपा एमालेको ४१, माओवादी केन्द्रको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३, राप्रपाको दुई, विवेकशील साझा पार्टीको तीन, नेमकिपाको दुई र जसपाको एक जना प्रदेश सभाका सदस्य रहेका छन् । एमालेबाट निर्वाचित दुई जना प्रदेश सभा सदस्यले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिनुभएको थियो भने एक जनाको निधन भएको छ ।