• ३० असोज २०८२, बिहिबार

जैमिनीको कुश्मीसेरा-कार्कीनेटा-पोखरा बस सेवा सुरु

blog

बस सेवाको शुभारम्भ गर्दै जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, असोज ३० गते । दक्षिण बागलुङको जैमिनी नगरपालिकाको प्रशासनिक केन्द्र रहेको कुश्मीसेरा बजारदेखि पर्वतको फलेबास, कार्कीनेटा, जुग्लेहुँदै पोखरासम्म बस सेवा सञ्चालनमा आएको छ । 

नगर उपप्रमुख हरिहर शर्मा, यातायात प्रालिका पदाधिकारी र व्यवसायीको उपस्थितीमा बिहीबार बिहानबाट बस सेवा सञ्चालनको शुभारम्भ गरिएको छ । नगरपालिकाको पहल र पृथ्वी राजमार्ग बस सञ्चालन प्रालि. पोखरा र स्याङ्जा गण्डकी बस सञ्चालन प्रालिसँगको समन्वयमा कुश्मीसेरा–कार्कीनेटा–पोखरा बस सेवा सञ्चालनमा ल्याइएको नगर उपप्रमुख शर्माले जानकारी दिनुभयो ।

कुश्मीसेरादेखि पोखराका लागि हरेक बिहान ७ बजे र पोखरा, नागढुङ्गाबाट कुश्मीसेराका लागि दिउँसो ११ बजे बस छुट्ने छ । बसको एकतर्फी भाडा ५ सय ५० रुपियाँ तोकिएको छ । बस सेवा सञ्चालनको शुभारम्भ गर्दै उपप्रमुख शर्माले कुश्मीसेरा पोखरा बस सेवा सञ्चालनमा आएसँगै दक्षिण बागलुङका नागरिकलाई प्रदेश राजधानी पोखरासँग जोड्न सहज हुने बताउनुभयो ।

‘‘यो सेवालाई निरन्तरता दिनुपर्छ, सडकको स्तरोन्नतिका लागि नगरपालिकाले पनि सक्दो पहल गर्छ’’, उपप्रमुख शर्माले भन्नुभयो, ‘‘यो हाम्रा पुर्खाले हिँडेरै नुनतेल बोकेको ऐतिहासिक मार्ग हो, अहिले मोटर गुड्ने भयो, यो खुसीको कुरा हो ।’’ पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको जैमिनीमा सिधा सडक सञ्जालले पर्यटकलाई आवतजावतमा पनि सजिलो हुने शर्माले विश्वास व्यक्त गर्नुभयो ।

जैमिनी क्षेत्र वेदव्यास पुत्र जैमिनी ऋषिले योगसाधना र तपस्या गरेको पुण्यभूमि मानिन्छ । जैमिनी १० राङखानीको हाडिकोट टापुमा २ करोड बढी लगानीमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । ऐतिहासिक र धार्मिक स्थल रहेको हाडिकोटको पूर्वतर्फ थन्थापमाईको प्रसिद्ध मन्दिर छ । यहाँ पनि पुरातात्विक महत्त्वका वस्तु भेटिएकोले नगरपालिकाले संरक्षणको प्रयास थालेको छ । 

यसअघि जैमिनी र बरेङ क्षेत्रका सर्वसाधारणले पोखरा जान मालढुङ्गा हुँदै पोखरा–बागलुङ राजमार्ग प्रयोग गर्नुपर्ने बाध्यता थियो । कुश्मीसेरा–पोखरा जोड्ने वैकल्पिक सडक सञ्चालनमा आएपछि स्थानीयलाई यात्रा गर्न सहज भएको छ ।