• २८ वैशाख २०८१, शुक्रबार

गुल्मीमा ७९३ जना उम्मेद्वारले बुझाएनन् निर्वाचनको खर्च विवरण

blog

जिल्ला निर्वाचन कार्यालय गुल्मी। तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, असार १७ गते। निर्वाचन भएको एक महिना भित्रमा निर्वाचनमा उम्मेद्वार बनेका उम्मेद्वारले चुनावी खर्च बुझाउनुपर्ने कानुनी व्यवस्था छ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एक हजार २४३ जना उम्मेद्वार मध्ये ४५० जनाले मात्रै निर्वाचनको खर्च विवरण बुझाएको र ७९३ जनाले खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी मेघलाल पाण्डेले जानकारी दिनुभयो।

पाण्डेका अनुसार निर्वाचनको खर्च विवरण बुझाउनका लागि आफूहरुले ताकेता गरेको दाबी गर्नुभयो। निर्वाचन खर्च विवरण बुझाउनेमा प्राय निर्वाचित जनप्रतिनिधि भएको पाण्डेले बताउनुभयो।

उम्मेदवार कसैले मेलबाट विवरण पठाएको र कसैले हुलाकबाट पनि पठाउने गरेकाले विवरण आउने कार्य जारी रहेको निर्वाचन कार्यालय गुल्मीले जनाएको छ।

निर्वाचनमा उम्मेद्वारले प्रयोग गरेको सवारी साधन, इन्धन, प्रचारप्रसार, ढुवानी, कार्यकर्ता परिचालन, कार्यालय संचालन प्रतिनिधि परिचालन लगायतका खर्चको विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था छ। 

निर्वाचन आयोगले उम्मेद्वारका लागि खर्चको सीमा निर्धारण गरेअनुसार नगरपालिका प्रमुख तथा उपप्रमुखले चार लाख ५० हजार, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षले तीन लाख ५० हजारसम्म, वडा अध्यक्षले दुई लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरेको थियो। 

निर्वाचन कार्यालय गुल्मीका प्रमुख माया कुँवरले निर्वाचन आयोगले असार मसान्तसम्म सबैको विवरण अनलाइनमा राख्न निर्देशन दिएको जानकारी दिनुभयो। आफूहरुले आएको विवरणलाई अनलाइनमा राख्ने र खर्च विवरण नबुझाउनेलाई के कारवाही गर्ने भन्ने कुरा  आयोगको रहेको बताउनुभयो।