• १२ वैशाख २०८१, बुधबार

राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार १७ गते । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले सो दल दर्ता गर्ने निर्णय गरेको आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।  

दल दर्ताको निवेदन आयोगमा परेदेखि स्वतन्त्र रहेकाहरुले सो दलको नाममा विरोध जनाउँदै आउनुभएको थियो । सो दलको विरुद्धमा सर्वोच्चमा रिट दर्ता पनि भएको थियो । तर सर्वोच्चले सो रिटबारेमा सुनुवाइ नगरेपछि आयोगले आज शुक्रबार सो दल दर्ता गरेको हो ।

सो दलको चुनाव चिन्ह गोलाकारभित्र घण्ट राख्ने निर्णय भएको प्रवक्ता पौडेलले बताउनुभयो । सो दलले आयोगमा दिएको दल दर्ताको निवेदनमा चुनाव चिन्ह घण्टी राख्ने प्रस्ताव गरे पनि केही परिमार्जन भएको उहाँले बताउनुभयो ।

दल दर्ताका लागि पत्रकार लामिछानेले असार ७ गते आयोगमा निवेदन दर्ता गराउनुभएको थियो । दल दर्ताको निवेदन दिएको १०  दिनमा सो दल दर्ता भएको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५ (४) मा आयोगले बढीमा ४५ दिनभित्र दल दर्ता गरी दर्ता प्रमाणपत्र सम्बन्धित जानकारी दललाई दिनुपर्ने व्यवस्था रहेको छ । यसअघि लामिछाने पत्रकारितामा सक्रिय रहनुभएको थियो ।