• २८ वैशाख २०८१, शुक्रबार

अब परिवर्तनका लागि आन्दोलन आवश्यक छैन : नेता नेम्वाङ

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असार १७ गते । नेकपा (एमाले) का उपाध्यक्ष एवम् संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले परिवर्तनका लागि नेपालमा आन्दोलन गर्न आवश्यक नरहेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा बोल्दै उपाध्यक्ष नेम्वाङले परिवर्तन चाहनेले जनताको मन जितेर संसदमा गएमा सहजै जुन कुनै परिवर्तन गर्नसक्ने बताउनुभएको हो । 

संविधान जारी भएसँगै देशको शक्तिको रुपमा जनता रहेकाले जनताले चाहेमा सबैखालका परिवर्तन संसदबाटै गर्नसक्ने उहाँले बताउनुभयो । उपाध्यक्ष नेम्वाङले कुनै दल र व्यक्ति मन नपरे सहजै पार्टी परिवर्तन गर्ने र खोल्ने अधिकार संविधानले दिएको उल्लेख गर्दै जनताको उन्नतिका लागि एकजुट भइ अघि बढ्नुपर्ने आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले ६ वर्षकै बीचमा सर्वसम्मतिले संविधान संशोधनलाई पारित गरेर नेपालको संविधानलाई सर्वस्वीकार्य बनाएका छौँ । अब यत्ति मात्रै जोड्छु, अब परिवर्तनका लागि आन्दोलन गर्नुपर्दैन । जनताको मन जित्नुस्, जनताको आशीर्वाद लिनुस्, संसदमा पुगेर संविधान संशोधनमार्फत जुनसुकै प्रकारको परिवर्तन गर्न सकिन्छ ।” 

जनता अधिकार सम्पन्न भइसकेको चर्चा गर्नुहुँदै एमाले नेता नेम्वाङले थप्नुभयो, “व्यक्ति मन पर्दैन, व्यक्ति परिवर्तन गर्नुहोस्, पार्टी नयाँ बनाउनुस्, अब परिवर्तनका लागि आन्दोलन गर्नुपर्दैन । जनतालाई सुख दिन जनताको उन्नतिका लागि एकजुट भइ अघि बढ्नुपर्ने आवश्यक छ । हाम्रा सबै कुरा संविधानअनुसार चल्नुपर्छ । २० गतेको सांसदमा ल क्याम्पसबारे कुरा उठ्छ ।’ उपाध्यक्ष नेम्वाङले देश र राजनीतिक दल पनि संविधानअनुसार नै चल्नुपर्ने बताउनुभयो ।