• १३ साउन २०८१, आइतबार

तनहुँमा बच्चासहित चितुवा दिउँसै बस्तीमा डुल्दै

blog

अमरराज नहर्की 

तनहुँ, असार १७ गते ।  दिउँसै चितुवा बच्चा लिएर बस्ती बस्तीमा आउन थालेपछि तनहुँका विभिन्न पालिका बासिन्दा आतङ्कित भएका छन् । यतिबेला बच्चा हुर्काउने बेला भएकाले चितुवा बढी आक्रामक हुने हुँदा सतर्क हुन डिभिजन वन कार्यालय तनहुँले आग्रह गरेको छ ।

  बच्चासहितको माउ चितुवा देखिन थालेपछि सतर्कता अपनाउन डिभिजन वन कार्यालयले आग्रह गरेको छ । जिल्लाका विभिन्न पालिकामा बच्चासहितको माउ चितुवा देखिन थालेपछि सजग भएर हिँड्डुल गर्न अनुरोध गरिएको हो । यतिबेला चितुवाले आफ्ना बच्चा लिएर हिंड्ने बेला भएकाले बच्चालाई आहार खुवाउनका लागि मानिस तथा पशुपंक्षीमा आक्रमण हुने जोखिम धेरै हुने डिभिजन प्रमुख कोमलप्रसाद काफ्लेले जानकारी दिनुभयो । 

        जिल्लाको बन्दिपुर, आँबुखैरेनी र व्यासका केही वडामा बच्चासहितको चितुवा भेटिएको भनी स्थानीयले जानकारी गराउन थालेका छन् । 

‘साँझ,बिहान हिड्डुल गर्दा,या विद्यालय, वनजङ्गलमा जाँदा समूहमा जाने आउने गर्नुपर्छ, काफ्लेले भन्नुभयो’ । 

केही दिनअघि मात्रै बन्दिपुर गाउँपालिका–१ का एक बालकले चितुवाका कारण ज्यान गुमाएका थिए । चितुवाको आक्रमणबाट एक बालिकासहित तीन जना मानिस घाइते हुनुका साथै खसीबाख्रालाई पनि आक्रमण गर्न थालेपछि स्थानीयबासी त्रासित भएका हुन् ।

त्यसैगरी जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ का वडाध्यक्ष प्रेमबहादुर गुरुङ्ले मङ्गलबार जरुरी सूचना जारी गर्दै सुरक्षित भएर बस्न वडाबासीलाई आग्रह गर्नुभएको छ । छिमेकी बस्तीमा चितुवा प्रवेश गरी मानिस तथा गाईबस्तुलाई आक्रमण गरी क्षति बनाउन थालेपछि त्यसबाट जोगिन पूर्व सावधानी अपनाउन आग्रह गर्नुभएको हो । तनहुँका तीन वर्षको अवधिमा नरभक्षी चितुवाको आक्रमणबाट १२ जना बालबालिकाको मृत्यु भइसकेको छ । 

चितुवाले खाने मुख्य आहाराहरु रतुवा, मृग, चित्तल, बँदेल, वनकुखुरा, खरायो, दुम्सी लगायतको मानिसले अवैधरुपमा मारी खाइदिँदा चितुवाले शिकार गर्ने वन्यजन्तुको कमी आई आहाराको खोजीमा चितुवा मानव बस्तीमा पस्ने गरेकोले वन्यजन्तुको शिकार नगर्न डिभिजन वन कार्यालयले अनुरोध गरेको छ । चितुवा पानीको खोजीमा समेत मानव बस्तीमा आउने हुँदा वन जङ्गलमा भएका पानीका मुहानहरु संरक्षण गरी पोखरी निर्माण गर्न कार्यालयले आग्रह गरेको छ ।