• १६ चैत २०८०, शुक्रबार

घरमै पुगेर लालपुर्जा वितरण

blog

तनहुँ समाचारदाता 

तनहुँ, असार १७ गते ।  तनहुँको व्यास नगरपालिका–१४, केशवटारका ५६ घरपरिवारलाई लालपुर्जा प्रदान गरिएको छ । नापी कार्यालयले ‘गाउँब्लक’ अन्तर्गत लालपुर्जा वितरण गरेको हो ।  साबिकको केशवटार गाउँ विकास समितिअन्तर्गत १३ वटा गाउँब्लकको नापी सम्पन्न गरी सो कार्यालयले ५६ घरपरिवारलाई लालपुर्जा वितरण गरेको हो । 

गाउँब्लकअन्तर्गत नापी सम्पन्न भई दर्ता भइसकेका जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको नापी कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले बताउनुभयो । सबै घरपरिवारलाई पुर्जा वितरण गर्ने योजना नापी कार्यालयको छ । 

कार्यालय प्रमुख आचार्यले सेवाग्राहीलाई कार्यालयसम्म आउन झन्झटिलो हुने भएकाले गाउँमै पुगेर लालपुर्जा वितरण गरेको जानकारी दिनुभयो ।  सो कार्यालयका अनुसार तनहुँमा २०७१ सालदेखि गाउँब्लक नाप्न सुरु गरिएको थियो । जिल्लाका साबिक २२ वटा गाउँ विकास समितिमा गाउँब्लक छ । सबै ठाउँको नापी सम्पन्न भइसकेको जनाइएको छ । 

हाल भानु नगरपालिकामा पर्ने साबिक मैवलका केही ठाउँमा लालपुर्जा वितरण गर्न बाँकी छ । यो वर्ष ऋषिङ गाउँपालिका–४ भीरकोटका १०१, बन्दीपुर गाउँपालिका–६ धरमपानीका ६५ जनालाई पनि लालपुर्जा वितरण गरिसकेको छ । 

पुर्जा पाएपछि स्थानीयवासी खुसी देखिएका छन् । घरजग्गा पुर्जा नहुँदा व्यक्तिगत काम, बैङ्कबाट ऋण, धितो राख्न, बेचबिखन र अंशबन्डा गर्नबाट वञ्चित हुनुपरेको थियो । 

 २०२९ देखि २०३२ सालसम्म तनहुँमा पहिलो पटक नक्सानाप गरिएको थियो । तत्कालीन समयमा बाक्लो बस्ती बसेको ठाउँ र बस्ती नबसेको ठाउँमा ‘गाउँब्लक’ नामकरण गरी एउटै कित्तामा जग्गा नापी गरिएको थियो । 

धेरै घर बस्ती भएको ठाउँको नापनक्सा हुन छुट भएको थियो । उक्त समयमा ती जग्गामा ब्लक नम्बर लेखिएको थियो । अहिले त्यही ब्लक नम्बर नापेर भोगको आधारमा पुर्जा वितरण गरिएको आचार्य बताउनुहुन्छ ।