गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज २२ गते । कविता कुँवरको अलराउन्डर प्रदर्शन र इन्दु वर्माको प्रेरणादायी पालिको सहयोगमा महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तर्गत चौथो खेलमा नेपालले मङ्गलबार घरेलु टिम मलेसियालाई छ विकेटले पराजित गरेको छ ।
यस नतिजासँगै पाँच खेलको शृङ्खला २–२ ले बराबरीको स्थितिमा आएको छ । अब बुधबार हुने पाँचौँ तथा अन्तिम खेलले शृङ्खला विजेताको छिनोफानो गर्ने छ । यसअघि मलेसियाले पहिलो खेल १३ र तेस्रो खेल तीन रनले जितेको थियो । नेपालले दोस्रो खेल मलेसियालाई छ विकेटले नै पराजित गरेको थियो ।
मलेसियाको क्वालालम्पुरस्थित बायोमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १११ रन बनाएको थियो । नेपालले १७.३ ओभरमा चार विकेटको क्षतिमा ११५ रन बनाएर लक्ष्य पूरा ग¥यो ।
कप्तान इन्दु वर्माले अविजित ४८ रन बनाएपछि नेपालको जित सहज बन्यो । इन्दुले ३९ बलको सामना गरी छ चौका प्रहार गर्नुभयो । पूर्वकप्तान रुविना क्षेत्री पनि २३ बलमा २३ रनको उपयोगी पालि खेलेर अन्त्यसम्म आउट हुनुभएन । रुविनाको पालिमा दुई चौका र एक छक्का सामेल थियो । चालु शृङ्खलामा रुविनाले पहिलो छक्का प्रहार गर्नुभएको हो । इन्दु र रुविनाले पाँचौँ विकेटका लागि अविजित ६१ रनको साझेदारी गरी मलेसियालाई खेलमा फर्कन दिनुभएन । नेपालको पालिमा प्रारम्भिक ब्याटर रुवी पोदार (पाँच रन) र पूजा महतो (सात रन) चाँडै आउट हुनुभयो । पूजा रनआउट हुनुभएको हो ।
यसै गरी कविता कुँवरले १६ र सम्झना खड्काले ११ रन बनाउनुभयो । मलेसियाका लागि आइना हमिजा हसिम, नुर डानिया स्युहदा, माहिरा इज्जती इस्माइलले विकेट लिनुभयो ।
यसअघि नेपालले मलेसियाका दुवै प्रारम्भिक ब्याटर आइना हामिजा हासिम र वान जुलियालाई शून्यमा पवेलियन फर्काएर सानदार सुरुआत गरेको थियो । आइना चार पालिमा १३७ रनसहित सर्वाधिक रन बनाउने ब्याटर हुनुहुन्छ । पछिल्ला तीन खेलमा दुई अर्धशतकीय पालि खेल्ने आइना यस पटक रनको खाता खोल्न नपाउँदै कविताद्वारा ‘कट एन्ड बोल’ हुनुभयो । जुलियालाई पूजाले बोल्ड गर्नुभयो । त्यसपछि कविताले कप्तान विनिफ्रेड डुराइसिङ्घमलाई दुई रनमा आउट गरेपछि मलेसिया सङ्कटमा परेको थियो तर चौथो क्रमकी ब्याटर मास एलिसाले अविजित ५६ रन बनाएर मलेसियाको उद्धार गर्नुभयो । उहाँले ६३ बलको सामना गरी पाँच चौका प्रहार गर्नुभयो । यसै गरी माहिरा इज्जती इस्माइलले १८ र नुर डानिया स्युहदाले १५ रन योगदान दिनुभयो ।
नेपालका लागि कविता कुँवरले चार ओभरमा मात्र १० रन खर्चेर तीन विकेट लिनुभयो । ब्याटबाट पनि उपयोगी योगदान दिएर अलराउन्डर खेल देखाउने कविता प्लेअर अफ दी म्याच पनि बन्नुभयो । नेपालका लागि पूजा महतो र कविता जोशीले एक/एक विकेट हासिल गर्नुभयो ।
इन्दु एक हजार रन पूरा गर्ने पहिलो महिला क्रिकेटर
मलेसियाविरुद्ध सर्वाधिक रन बनाउने क्रममा इन्दुले महिला टी–२० अन्तर्राष्ट्रियमा एक हजार रन पनि पूरा गर्नुभएको छ । उहाँ सो कोसेढुङ्गामा पुग्ने नेपालकी पहिलो खेलाडी हुनुहुन्छ । इन्दुले आफ्नो ७७ औँ खेलमा १५ रन बनाएपछि एक हजार रन पूरा गर्नुभएको हो । उहाँले टी–२० अन्तर्राष्ट्रियमा ४० विकेट पनि लिनुभएको छ । इन्दुले टी–२० अन्तर्राष्ट्रियमा एक अर्धशतक पनि प्रहार गर्नुभएको छ । सन् २०२१ मा कतारविरुद्ध उहाँले ५५ रनको पालि खेल्नुभएको थियो; जुन टी–२० आईमा उहाँको सर्वाधिक स्कोरका रूपमा रहेको छ । सीता रानामगर (६२ बलमा ९६५ रन) र रुविना (७८ खेलम ९१६ रन) पनि टी–२० आईमा एक हजार रनको कोसेढुङ्गाको नजिक हुनुहुन्छ ।