त्रेता युगमा जन्मेका खुङ्खार डाँकु रत्नाकरको एक दिन नारदमुनिसँग बाटोमा जम्काभेट हुन्छ । आफूलाई लुट्ने बेला नारदमुनिले रत्नाकरलाई एउटा प्रश्न गर्छन् । के तिम्रो परिवारले तिमीले लुट्ने क्रममा गरेका हत्या, हिंसाबाट लाग्ने पापमा तिम्रो साथ दिन्छन् ? डाँकु आफूले लुटेको गरगहना, सुनचाँदी, पैसामा मात्र नभएर लुट्ने क्रममा आफूले गरेको पापमा पनि आफ्नो परिवारले साथ दिन्छन् भन्नेमा ढुक्क थिए तर जब नारदमुनिले उनलाई परिवारसँग सोधेर आउनू अनि मात्रै मलाई लुट्नू भनेपछि उनी घर जान्छन् । घरमा श्रीमती, छोराछोरी, बुवा सबैले उनले लुटेर ल्याएको सामानमा मात्रै हक जमाउने तर उनको पापमा साथ नदिने जवाफ दिए । त्यसपछि उनी त्यही दिनदेखि लुटपाट छाडेर तपस्या गर्न थाल्छन् । लुट्ने व्रmममा नारदमुनिका उपदेशले परिवर्तन भएर उनी महर्षि वाल्मीकि बन्न पुगे । उनलाई भगवान् श्रीरामका बारेमा संस्कृत भाषामा रामायणको रचना गर्ने संस्कृत भाषाको पहिलो कविसमेत मानिन्छ । यो उदाहरणले समय, घटनाक्रम तथा सही उपदेशले मानिसमा सकारात्मक परिवर्तनसमेत आउन सक्छ भन्ने देखाउँछ । कहिलेकाहीँ परिस्थिति तथा वातावरणले मानिसलाई दुष्ट बनाउन सक्छ, नराम्रो काम गर्न उत्पे्ररित गर्न सक्छ भने समयसँगै मानिस ज्ञानी बन्न पनि सक्छ । भनिन्छ हरेक गल्ती गर्ने व्यक्तिभित्र एउटा असल मानिस लुकेको हुन्छ र प्रत्येक व्यक्तिमा परिवर्तन र सुधारको सम्भावनासमेत लुकेको हुन्छ । कुनै पनि मानिसलाई सधैँभरि एउटै आँखाले हेर्नु हुँदैन ।
यही भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागार तथा बालगृहबाट गरी १४ हजार ५५५ कैदी कारागार तोडफोड तथा आगजनीपश्चात् भागे । जसमध्ये आठ हजार २२६ जना कैदीबन्दी अझै पनि फरार छन् भने छ हजार ३२८ जना कारागार फर्किसकेका छन् । कारागारमा रहेका कतिपय कैदी चोरी, डकैती, हत्या, हिंसा गरेका कारण आजीवन वा बर्सौंका लागि सजाय भोगिरहेका छन् । यस्ता हिंस्रक मानसिकता भएका कैदी जेलबाहिर खुलेआम डुलिरहनु खतरापूर्ण हुुन्छ । प्रहरी एक्लैले यस्ता कैदीको खोजीकार्य सम्भव नहुन सक्छ । यस कारण समाज तथा जोसुकैले पनि यस्ता कैदीलाई पक्राउका लागि मद्दत गर्न जरुरी देखिन्छ । हालै नख्खु कारागारमा सजाय काटिरहेका काभे्र पनौतीका ३० वर्षीय एक जना कैदी कारागारबाट भागेर श्रीमतीको हत्या गरे । यही कारण कतिपय देशले नेपाललाई भिसा दिन बन्द गरेका छन् । गम्भीर प्रकृतिका अपराधमा संलग्नलाई जसरी पनि पक्राउ गर्नै पर्छ ।
गत असारसम्मको तथ्याङ्क हेर्दा देशभरका ७५ वटा कारागारमा महिला तथा पुरुष गरी जम्मा १७ हजार ९२५ जना मात्र बस्न मिल्ने क्षमता छ । हालैको जेनजी प्रदर्शनका क्रममा देखिएको प्रहरीको रेकर्ड अनुसार कारागारमा ३० हजार ६३४ कैदीबन्दी रहेको देखिन्छ । यो तथ्याङ्क हेर्दा भदौ २३ गतेसम्म देशका विभिन्न कारागारमा क्षमताभन्दा झन्डै ६० प्रतिशत बढी कैदी रहेको देखिन्छ । भनिन्छ ‘कैद सजाय अपराधको बदला होइन, सुधारको अवसर हो ।’ कारागारभित्र बस्नका लागि सहज वातावरण, पोषणयुक्त खाना, स्वास्थ्य जाँच, पढ्ने लेख्ने सुविधा नहुनु र सानो ठाउँमा कोचिएर बस्नुपर्ने अवस्थाले भागेका कैदी फर्कन नचाहेका हुन सक्छन् । महिला तथा बालबालिकालाई यस्तो ठाउँमा दिन बिताउन सकस हुन्छ । कैदीले मात्रै सजाय पाइरहको हुँदैन । उसको परिवारले पनि कैदमुक्त नहुन्जेल सजाय पाइरहेको हुन्छ । तोडफोड, आगजनी हुँदा पनि कारागार छाडेर नभागेका, डराएर कारागार छाडेर भागेका, जेलरलाई सोधेर आवश्यक परे फर्किन्छौँ भनेर गएका, प्रहरीको फर्किनु भन्ने नोटिस पाएर फर्केका वा प्रहरीसँग घरबाट चुपचाप लागेर कारागार फर्केका वा प्रहरीले फर्किएनौ भने झन् बढी सजाय तोकिन्छ भन्ने उर्दी जारी गरेपछि कारागार फर्केका कैदीका बारेमा पनि एक पटक सोच्नुपर्ने बेला आएको छ । यदि कारागार फिर्ता भएनन् भने थप सजाय दिइन्छ भने कारागारबाट नभागेका र फर्केर कारागार आउनेलाई कैदमा सहुलियत पनि दिन सक्नु पर्छ । न्यायका लागि पर्खिरहेकालाई आशा र गल्ती सच्याउने मौका दिइनु पर्छ । लामो समय कारागारमा सजाय भुक्तान गरिसकेका र छ महिनासम्म कैद भुक्तान बाँकी रहेका कैदीलाई समेत प्रहरीले फिर्ता बोलाए वा आफैँ गएरसमेत लिएर आए ।
क्षमताभन्दा झन्डै ६० प्रतिशत कैदी बढी राख्नुभन्दा चालचलन, बानीव्यवहार हेरेर कम्तीमा पनि ८० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीलाई उचित सल्लाह, सुझाव, नसिहतसहित कारागारमुक्त गरिदिँदा अन्य कैदीलाई कारागारमा बस्न सजिलो हुन्थ्यो कि ! कारागारको सुरक्षा पनि प्रहरीका लागि चुनौतीपूर्ण रहँदै आएको छ । त्यसैले कैदीलाई सजाय भुक्तान भए अनुसार छान्दै कैदमुक्त गर्दा सरकारलाई पनि आर्थिक भार कम पर्न जान्छ । अहिले त कतिपय कारागार आगलागी तथा तोडफोडले बस्नलायकसमेत छैनन् । कैदीको बासको व्यवस्था अन्य ठाउँमा गर्नुपरेको छ ।
कारागारभित्र रहँदा कैदीलाई नराम्रो काम छाडी राम्रो काम गर्न प्रेरित गर्ने खालका वक्तव्य, भाषण, अडियो, भिडियो देखाउँदा उनीहरूलाई सकारात्मक सोचतिर मोड्न सकिन्छ । रत्नाकर डाँकु परिवर्तन भए जस्तै बेला बेलामा कैदीलाई पनि सम्झाइबुझाइ गरियो भने उनीहरूले आपराधिक एवं गैरकानुनी कार्य रोकी राम्रो काम गर्न उत्प्रेरित गर्नमा धेरै मद्दत गर्न सक्छ । उदाहरणका लागि एक दिन भजनमण्डलीमा बस्यौँ भने भगवान्तिरै मन जान्छ, गुरुहरूको सत्सङ्ग ग¥यौँ भने राम्रो काम गर्न मन लाग्छ, राम्रा किताब पढ्यौँ भने अरूलाई देख्दा दया, माया जागेर आउँछ । त्यसै गरी कारागारमा सजाय भुक्तान गरिरहेका कैदीलाई पनि सकारात्मक सोच बढाउनको लागि धेरै प्रयास गर्न जरुरी देखिन्छ । कुनै काम गर्दा शतप्रतिशत सफल नै भइन्छ भन्ने पनि हुँदैन । कतिपय कैदीको आनिबानीमा परिवर्तन नआउन पनि सक्छ । अपवाद त जता पनि आइहाल्छ । साथै कतिपय कैदी लामो समयसम्म आफ्नो उर्वर समयमा कारागारभित्रै रहने भएकाले उनीहरूलाई कारागारबाहिर निस्केपछि चाहिने आवश्यक सिप, क्षमता अभिवृद्धि गराउनु पर्छ । धेरै जसो कारागारभित्र बाँसबाट बन्ने कुर्सी, मुढा, चकटी मात्रै बनाउन सिकाउने गरेको देखिन्छ । अहिले यस्ता सामान बजारमा खासै बिक्री हुने गरेका छैनन् ।
ठुलो जनशक्ति कारागारभित्र पनि रहने भएकाले उनीहरूलाई काठको काम गर्न, घर बनाउन, बिजुलीबत्तीको काम, धारा, पानी, ढलको काम गर्न सिकाउन सकिन्छ । आजभोलि यस्ता काम गर्ने नेपाली कामदार बजारमा पाउन मुस्किल छ । यदि कारागारमुक्त हुँदा कैदीका हातमा केही सिप भयो भने उनीहरू केही इलम गरेर व्यवहार चलाउन सक्छन् । फर्केर नराम्रो काम गर्ने सोच नआउन सक्छ ।
जेनजी प्रदर्शनपश्चात् देशमा ठुलो परिवर्तन आइसकेको छ । अब भने देशमा विकृति, विसङ्गति एवं भ्रष्टाचार जस्ता घटनामा कमी आई देश सुशासनतिर बढ्ने आशा धेरैले गरेका छन् । प्रत्येक नेपाली जस्तै कैद भुक्तान गरिरहेका कैदीका पनि केही आशा होलान् । कारागार सुधारका लागि नयाँ तरिकाले सोच्ने र फरक ढङ्गले काम गर्न जरुरी देखिन्छ । कारागारबाहिरका सबै मानिस राम्रा छन् भन्ने पनि छैन । सबै कैदी पनि दुष्ट नै हुन् भन्ने पनि हुँदैन । एक दिन वा एक महिनाको सजाय मात्रले पनि कतिपय कैदीको जीवनमा ठुलो परिवर्तन ल्याउन सकिन्छ भने कतिपयले आजीवन सजाय पाउँदा पनि परिवर्तन हुन सकेका हुँदैनन् । त्यस कारण समाजमा, परिवारमा खुसी ल्याउन कैदीहरूको पनि पुनस्र्थापना आवश्यक छ । कानुनले सजाय मात्रै होइन, सुधारको लागि पनि अवसर दिनु पर्छ ।