पञ्चायतकालदेखि हालसम्म हेर्दा नेपालको राजनीतिक यात्रामा सत्तामा पुग्नासाथ मन्त्रीहरू ‘लोकप्रियतावाद’ को प्रलोभनमा फसेको इतिहास छ । भाषण, घोषणा र आकर्षक नारा दिएर नागरिकलाई रनभुल्लमा पारेर ललिपल खुवाउन खोज्ने प्रवृत्ति हाबी छ । यस्ता चटके बोलीले उनीहरू क्षणिक ताली त पाउँछन्, दीर्घकालीन परिणाम दिन सक्दैनन् । विगतदेखि नै नेपाली नागरिक शासकबाट यस्तै फोस्रा र चटके कुराबाट पीडित छन् ।
नागरिकले मन्त्री वा नेताबाट अपेक्षा गरेको बोली होइन, ठोस काम हो । जीवनस्तरमा सुधार, शिक्षा र स्वास्थ्यमा सहजता, रोजगारीमा अवसर र आधारभूत भौतिक पूर्वाधार निर्माणमा परिणाममुखी कामको अपेक्षा हो । अहिलेसम्म यी अपेक्षा पूरा हुन सकेन ।
जटिल परिस्थितिमा मन्त्रीको असली मूल्य बोलीले होइन, नतिजाले मात्रै जलिरहेको देश र चह¥याइरहेको मनमा मलमपट्टी लाग्छ । मन्त्रीले अब चटके होइन, कालजयी काम गर्नु समयको माग हो ।
सत्तामा पुगेपछि हरेक मान्छेले लोकप्रिय बन्ने इच्छा राख्नु अस्वाभाविक होइन । लोकप्रियता कमाउने नाममा बोल्ने प्रवृत्तिकै कारण हाम्रो देश खोव्रmो बन्दै गएको हो । जेन्जी आन्दोलनको जगमा बनेको सरकारका मन्त्रीले शपथग्रहण हुनासाथ दिएको अभिव्यक्तिले पपुलारिजमको प्रतियोगितामा सहभागी हुने प्रतिस्पर्धा हो कि भन्ने भान भइरहेको छ ।
मन्त्रीहरूले शपथ लिएर पद बहाली हुँदानहुँदै एकसे एक लोकप्रिय धारणा सार्वजनिक गरिरहनुभएको छ । लोकप्रिय हुन नागरिकलाई भ्रष्टाचार र बेथितिविरुद्ध, सुशासनमा गुणात्मक सुधार चाहिएको छ । पेन्सन र तलब दुवै लिन नमिल्दा एकातर्फको त्याग गर्नु ठुलो विषय होइन । किनकि कुनै पनि पेन्सनधारी नवनियुक्त मन्त्रीले पेन्सनसमेत त्याग्नुभएको सुन्नमा आएको छैन । हेक्का रहोस् सबैले यी खुद्रा मसिना कुरा बुझेकै छन् । त्यस्ता अनावश्यक विषयमा नअल्मलिनुस् । समय छोटो छ । मन्त्रीहरूले आफ्नोपन र ढर्रा छाडेर सुशासनको जग बसाउँदै निष्पक्ष निर्वाचन गराउन सक्नुभयो भने ठुलो सफलता मिल्ने छ । जसरी म आफ्नु ठाउँमा असफल भएको छु, सुशासन र भ्रष्टाचार रोक्न त्यही नियति तपाईहरूले भोग्नु नपरोस् । कडा कानुन बनाउनूस् । तल्लो एकाइदेखि माथिल्लो तहसम्म नीतिगत र थितिगत भ्रष्टाचार रोकियोस् । यति गर्नुभयो भने ठुलो सफलता मिल्ने छ । देशका लागि ठुलो योगदान ठहरिने छ । चटके काम र नाम अरूलाई छाडिदिनुस् । हल्ला होइन, सल्लाह गर्नूस् र परिणाम दिनूस् ।
मौनताको शक्ति
राजसी जीवन सहज नहुँदो रहेछ । बाहिर बस्दा ठुल्ठुला गुड्डी हाँकिन्छ मेयर, मन्त्री भएपछि आफ्नो अनविज्ञता, नीतिगत व्यवस्था, सल्लाहकार र कर्मचारीको मान्यतागत सुझाव आदिले आधा हातखु्ट्टा बाँधिने रहेछ । आन्दोलन, विरोध प्रदर्शन, आर्थिक सङ्कट, प्राकृतिक विपत्ति, चाडबाड, सभा सम्मेलन, बधाई शुभकामना समय स्वाहा ! मौन बसेर काम गरौँ, चटके बोलीले क्षणिक लोकप्रियता त दिन सक्छ तर समस्या समाधान गर्दैन । मौन भएर गम्भीरतापूर्वक काम गर्ने नेतृत्वले मात्रै परिणाम दिन सक्छ । मौनताको शक्ति बुझ्न जरुरी छ । हल्ला नगरी काम गर्ने संस्कार विकास गर्न सके मात्र नागरिकले विश्वास गर्छन् र दीर्घकालीन परिणाममुखी काम पनि हुन्छ ।
क्षणिक हुन्छ लोकप्रियता
लोकप्रियता मानिसको अस्थायी साधन हो साध्य होइन । महत्वपूर्ण परिणामले नै दीर्घकालीन र चिरस्थायी पहिचान बनाउँछ । जेनजी आन्दोलनको मर्म नै सामूहिक हित र लोकतान्त्रिक मूल्यका आधारमा सुरु भएको हो । मन्त्रीको इन्ट्री व्यक्तिगत नाम कमाउने, छोटो समयमा लोकप्रिय बन्ने जालोमा फस्नुहुन्छ कि भन्ने त्रास बढेको छ । पक्कै पनि असल सोच र मनसायबाट सृजित वर्तमान परिस्थितिमा माननीय मन्त्रीले युवा विद्यार्थीको मर्म, भावना र उद्देश्य पूरा गराउन सुशासनको जग बसाउन सके मात्रै सफल कार्यकाल ठहरिने छ । नत्र पुरानो बोतलमा नयाँ रक्सीको उपमा छ महिनापछि मिल्ने छ नागरिकका तर्फबाट ।
नागरिकले आकर्षक भाषण होइन, जीवनमा सहजता चाहेका छन् । विद्यालय पुग्दा योग्य शिक्षक हुनु, अस्पतालमा औषधि पाउनु, बाटोमा हिँड्दा धुलोहिलो नहोस्, युवाले रोजगारी पाऊन्, यी नागरिकका मौलिक अपेक्षा हुन् । जादुको छडी झैँ यी सबै आवश्यकता तत्कालै पूरा गर्न सकिन्न तर यसको जग बसाउन सकिन्छ । त्यसैले लोकप्रिय बोली होइन, टर्रो बोलेर भ्रष्टाचार हटाउनूस् । आफूले नगर्नु ठुलो विषय होइन रहेछ । देशमा निमिट्यान्न पार्न दर्बिलो नीतिगत व्यवस्था गरेर कानुनी बन्धन नै महŒवपूर्ण पाटो रहेछ । कतै चुहिन नदिने चारैतिर बन्द गर्ने । अन्यथा पुनः नागरिकमा थप विद्रोहको ज्वालामुखी भट्किन्छ । किनकि २७ घन्टे आन्दोलनको अन्त्य विध्वंसबाट भए पनि सुरुवात पवित्र लोकतान्त्रिक संस्कारबाट भएको थियो ।
जेनजी आन्दोलन र लोकतान्त्रिक संस्कार
नेपालमा लामो सङ्घर्षपछि लोकतन्त्र आयो । २००७, २०३६, २०४६, २०६२/६३ र भर्खरै भएको २०८२ को जेनजी आन्दोलनको लक्ष्य व्यक्तिगत स्वार्थकेन्द्रित नभएर सामूहिक अधिकार र न्यायका लागि भएका आन्दोलन हुन् । नागरिक सर्वोच्चता र समृद्ध समाज यसको परिकल्पना हो । हरेक पटकको कामचलाउ सरकार आन्दोलनको मर्मभन्दा बाहिर गएको देखिन्छ । २०४६ सालपछिका अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले संविधान बनाएर निर्वाचन त समयमा नै गराउनुभयो तर २०४६ साल अगाडिका भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउन सक्नुभएन । शक्तिशाली सरकार थियो तर वातावरण बन्न सकेन । राजा, देशीविदेशी दबाब वा आन्तरिक परिस्थिति अनुकूल रहेन होला । यो तत्कालीन परिस्थितिलाई नियाल्ने र भोग्नेलाई नै जानकारी हुनु पर्छ ।
बर्सौंपछि भर्खरै गरिएको जेनजी आन्दोलनमा तिनै पञ्च पृष्ठभूमिका मानिस वा सो प्रवृत्ति गाईको दुधले नुहाए जस्तो शुद्ध भए । जीवनभरि लोकतन्त्रका लागि सङ्घर्ष गरेका जो २०४६ साल पछाडि सत्ता आरोहण गर्ने वीर योद्धा भ्रष्टाचारी ठहरिए । यसमा प्रश्न उठाउन नसक्ने चरित्र देखाए ती महारथीले । लोकतन्त्रका पर्यायी शेरबहादुर देउवाले ८१ वर्षको वृद्धावस्थामा अपमानित हुनुपर्ने ? किन यो अवस्था आयो गम्भीर आत्मसमीक्षा जरुरी छ । समयको पदचाप कसैले बुझ्न सक्दैन । त्यसैले तपाईंहरू पनि नयाँ परिस्थिति र परिवेशमा मन्त्री बन्नुभएको छ (जवाफदेही, पारदर्शिता र कर्तव्यनिष्ठ भएर ठोस उपलब्धिलाई कार्यान्वयनमा गम्भीर हुनुहोला । बोलीको मिठासपनमा रमाउने प्रवृत्तिबाट न लोकतन्त्र दह्रो हुन्छ न भ्रष्टाचार निर्मूल गरेर सुशासन नै कायम गर्न सकिन्छ । अतः हल्ला गरेर लोकप्रिय बन्ने सोच होइन, मौन भएर जिम्मेवारी निर्वाह गरेर परिणाम निकाल्नुहोस् । त्यसैमा देश र जगत्को भलो हुन्छ ।
आश्वासन होइन, परिणाम
स्थानीय, प्रदेश र सङ्घीय सरकारका नेतृत्वसँग ठुलो गुनासो छ । हामीले बर्सौंदेखि खोक्रो वाचा सुन्यौँ, चिप्ला भाषण आए तर नतिजा हातलागि शून्य । यस्तो मनोविज्ञान छ नागरिकमा । केही हुँदै नभएको भने पक्कै होइन, काम भएको छ प्रशस्तै । जसरी विकास निर्माणलगायतमा ठुलो फड्को मारेको छ नेपालले । नैतिक, भौतिक विकासभन्दा भ्रष्टाचारको दुई गुना बढी विकास भएको त छैन ? तहगत हिसाबले सबैले समीक्षा गरेर आगामी दिनमा भ्रष्टाचारमुक्त समाज सुशासनयुक्त देश बनाउँ ।
वर्तमान सोच, परिवेश र नीतिगत व्यवस्था रहुन्जेलसम्म सुशीला कार्की त के आदर्श पुरुष भगवान् श्रीराम प्रधानमन्त्री भए पनि भ्रष्टाचार रोकिन्न भन्ने पछिल्लो प्रहरीको सामान खरिदमा देखिएको चलखेलको समाचारले पनि गम्भीर आशङ्का उत्पन्न भएको छ । यो प्रश्नको जवाफ भाषणले दिन सकिन्न, गृहमन्त्रीले घटनाको यथार्थ विवरण सार्वजनिक गर्ने र प्रधानमन्त्रीको ठोस हस्तक्षेपले मात्रै निक्लिन्छ परिणाम र रोकिन्छ भ्रष्टाचार ।
कार्यशैलीमा परम्परा, संस्कृति र संस्कार होइन, अब विकास गर्नु पर्छ नवीन सोचको । यति गरे मात्रै विश्वास पुनः स्थापित हुन्छ नागरिकको मानसपलटमा । अन्यथा जुन जोगी आए पनि कानै चिरेको युक्ति चरितार्थ हुने छ ।
अन्त्यमा
हाम्रो देश नेपालमा चिप्ला र आदर्शका कुरा सुनेर रमाउने समय पार गरिसकेका छन् नागरिकले । अब आवश्यकता छ जीवनमा प्रत्यक्ष अनुभूत हुने सुधारको । नागरिकले अब सपना होइन, व्यावहारिक गुणात्मक परिणाम खोजिरहेका छन् । विगतले देखाइसकेको छ परिवर्तनले राहत होइन, आहत दियो । परिणाम होइन, चिप्ला भाषण र खोक्रो आश्वासन दियो । राष्ट्र र जनताप्रति गहिरो जिम्मेवारी र कर्तव्यबोध भएन । सहिदको सपनाको कदर भएन । सहिद परिवारलाई सम्मान होइन, अपमानित अनुभूत भएको आदि कारणले पछिल्लो जेनजी आन्दोलनको बीजारोपण हुन पुग्यो । विश्व इतिहासमा छोटो समयमा यति ठुलो परिवर्तन र विध्वंस विरलै हुन्छ ।
जेनजी आन्दोलन परिवर्तन तथा विध्वंसको एउटा मानक बनेको छ । भोलिका दिनमा भ्रष्टाचार, बेथिति, सुशासनको नाममा फेरि आमाले काखको सन्तान गुमाउनु नपरोस् । चेलीले हातमा लगाएको चुरा, गलामा लगाएको पोते फ्याँक्दै शिरमा लगाएको सिन्दुर पुछ्नु नपरोस् । नागरिकको रगत र पसिनाबाट सङ्कलन गरिएको करबाट खरिद गरिएका उपकरण र संरचनामा आगो लागेको टुलुटुलु हेर्नु नपरोस् । भदौ २३ र २४ गते भएको आन्दोलन नै सबै विकृति, विसङ्गति र कुशासन अन्त्य भएको इतिहास बनोस् । माननीय मन्त्रीहरूलाई चटके बोलीमा लोकप्रियता खोज्ने प्रवृत्ति होइन, मौन बसेर चुपचाप काम गरेर जेनजी आन्दोलनको मूल्य र मान्यतालाई व्यवहारमा कार्यान्वयन गराउन सफलता मिलोस् ।