• १३ साउन २०८१, आइतबार

एकै आयोजनामा तीन मुद्दा

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असार १६ गते । बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिकास्थित नालढुङ्गा (घुँडेखोला) खानेपानी योजनामा फरक फरक रूपमा भएको अनियमितताका विरुद्धमा तीनवटा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकविरुद्ध एउटै आयोजनामा अनियमितता गरेकोमा तीनवटा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विकसहित सब–इन्जिनियर, लेखापाल, निर्माण सेवाका प्रोप्राइटर र उपभोक्ता समितिका अध्यक्षहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगले खानेपानी योजनामा सम्झौता अनुसारको सामग्री प्रयोग नगरेको, कमसल निर्माण सामग्री प्रयोग गरेको र नभएको कामको बिल बनाई भरपाई गरेको लगायतका आरोप लगाएको छ । 

अधिकृत विक, सब–इन्जिनियर नवीन थापा, असिस्टेन्ट सब–इन्जिनियर सनोज उपाध्याय र लेखापाल खडानन्द कँडेलविरुद्ध पहिलो मुद्दामा सात लाख ९२ हजार बिगो कायम गरी मुद्दा दायर गरिएको छ । यसैगरी सेभेन स्टेट बिल्डर्स, बागलुङका प्रोप्राइटर दीपेन्द्रबहादुर खड्काविरुद्ध तीन लाख ५३ हजार बिगो कायम गरिएको छ ।

अर्गेजा निर्माण सेवाका प्रोप्राइटर र काठेखोला कन्स्ट्रक्सनका प्रोप्राइटर टङ्कबहादुर कुँवर, खुस निर्माण सेवाका सूर्यबहादुर भण्डारी, भण्डारी सेवाका प्रोप्राइटर गणेशबहादुर भण्डारीविरुद्ध एक लाख ५१ हजार बिगो कायम गरिएको छ । सातबिसे कन्स्ट्रक्सनका प्रोप्राइटर मनोज खड्का र काठेखोला कन्स्ट्रक्सनका टङ्कबहादुर कुँवरविरुद्ध एक लाख ३५ हजार बिगो कायम गरिएको छ । 

कमसल सामग्री प्रयोग गरी आयोजना कामै नचल्ने गरी बिग्रिएको र डुडियाघाट लामाबगर ह्युमपाइप आयोजनामा अनियमितता भएको आरोपमा अधिकृत विक, सब–इन्जिनियर तथा उपभोक्ता समितिका अध्यक्षसमेत गरी छ जनाविरुद्ध दोस्रो मुद्दा दायर गरिएको हो । उपभोक्ता समितिका अध्यक्ष रनबहादुर थापा, सचिव टेकनारायण पुन र कोषाध्यक्ष पार्वती थापालाई चार लाख नब्बे हजार बिगो कायम गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिनुभएको छ । अधिकृत विक, सब–इन्जिनियर तथा उपभोक्ता समितिका अध्यक्ष अमरबहादुर गुरुङ, चेलीमाया थापा र गगनबहादुर कार्कीसहित छ जनाविरुद्धको तेस्रो मुद्दामा दुई लाख उनन्चालीस हजार बिगो कायम गरिएको छ ।