• २१ असार २०८१, शुक्रबार

नागरिकता विधेयक पारित गर्न उच्च तहमा छलफल भइरहेको छ : गृहमन्त्री खाण

blog

काठमाडौं, असार १५ गते । गृहमन्त्री बालकृष्ण खाणले नागरिकतासम्बन्धी विधेयक पारित गर्नका लागि उच्च तहमा छलफल भइरहेको बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्नुहुँदै गृहमन्त्री खाणले नागरिकतासम्बन्धी विधेयक पारित गर्नका लागि सांसदहरुको तहमा र उच्च राजनीतिक तहमा छलफल भइरहेको जानकारी दिनुभयो ।

उहाँले सो विधेयकको सम्बन्धमा निष्कर्ष निकाल्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले आगामी दिनमा एकीकृत सामाजिक सुरक्षा ऐन बनाउने सम्बन्धमा सरकारले गृहकार्य गर्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘नागरिकतासम्बन्धी विधेयक यो समितिमा झण्डै २२ महिना छलफल भएर प्रतिवेदनको रुपमा अहिले प्रतिनिधि सभामा छ । त्यसका बारेमा माननीय तहमा पनि र उच्च तहमा पनि छलफल भइराखेको छ । र त्यसलाई पनि एउटा निष्कर्ष निकाल्नुपर्ने अवस्था रहेको छ । एकीकृत समाजिक सुरक्षा ऐन बनाउँ भन्नुभएको छ । त्यसका लागि केही समय पनि लाग्छ । यसका लागि थप गृहकार्य पनि गर्नुपर्ने छ ।,’’

त्यस्तै, उहाँले आउने दिनमा गृह मन्त्रालयले यसका सन्दर्भमा गृहकार्य पनि गर्ने उल्लेख गर्नुभयो ।

‘‘सुरक्षाको छाताभित्र जति राज्यले, राज्यका अवयवहरुले सामाजिक उत्तरदायित्व बहन गरेको छ र हाम्रो मौलिक अधिकारले पनि त्यसलाई निर्दिष्ट गरेको छ । ति सबै कुराहरुलाई हामीले सम्पादन गर्नैपर्दछ । राज्यले दायित्व लिनैपर्दछ ।,’’ गृहमन्त्री खाणले भन्नुभयो ।

गृहमन्त्री खाणले सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई पनि छिट्टै पारित गर्नुपर्ने बताउनुभयो ।

संसदीय समितिहरुलाई प्रभावकारी बनाउन सरकार सकारात्मक सहयोग गर्न तयार रहेको जानकारी पनि उहाँले दिनुभयो । उहाँले संसदीय समितिहरुमा रिक्त रहेको सभापतिको चयनका लागि सत्तापक्ष र प्रतिपक्षका नेताहरुलाई अवगत गराउने उल्लेख गर्नुभयो ।