• ३० असोज २०८२, बिहिबार

हराउँदै गए लिङ्गेपिङ

blog

बर्दीबास–३, कालापानीको पिङमा मच्चिएर रमाइलो गर्दै स्थानीय । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती 

बर्दीबास, असोज १२ गते । नेपाली समाजमा दसैँसँगै आउने अर्को प्रतीक्षा पिङ हो । पिङले बालबालिका, युवादेखि वृद्धवृद्धासम्मलाई आकर्षित गर्दै आएको छ । पिङ नेपाली संस्कृतिको परम्परा हो । पुर्खादेखि नेपाली संस्कृतिको अभिन्न अङ्ग बनेको पिङको मौलिकता कम हुँदै गएको छ । कुनै बेला टोलैपिच्छे गाडिने पिङ अब मुस्किलले देख्न पाइन्छ ।

प्रगतिशील लेखक सङ्घ मधेश प्रदेशका अध्यक्ष नारायण घिमिरेका शब्दमा तराईको लिङ्गेपिङ र पहाडी भेगमा रोटेपिङ नेपाली समाजको परम्परा, सामूहिकता र मनोरञ्जनका प्रतीक हुन् । पिङले आधुनिक खेलकुदको विकल्प त दिन्छ नै, साथै गाउँमा आपसी मेलमिलाप र सहकार्यको वातावरण पनि बनाउँछ । पिङ केवल खेल र मनोरञ्जन होइन, यो हाम्रो सांस्कृतिक पहिचान पनि हो । घिमिरे भन्नुहुन्छ, “पिङ हाम्रो संस्कृति सम्पदाको परिचायक हो । पिङको हरेक मच्चाइले हाम्रो लोकजीवन, सामाजिक सहकार्य, मौलिक परम्परा र सांस्कृतिक धरोहरलाई समेटेको हुन्छ ।” 

पिङ सभ्यता, सामूहिकता र सामाजिक सहकार्यको उत्कृष्ट उदाहरणसमेत हो । बर्दीबास–१ का ७७ वर्षीय भवानीबहादुर क्षेत्री । उहाँका अनुसार त्यो बेला दसैं लागेपछि टोलैपिच्छे पिङ हुन्थे । बर्दीबासमै पाँच ठाउँमा पिङ हालिन्थ्याे । क्षेत्रीले सम्झनुभयो, “म आफैँ घरनजिक पिङ हाल्थें । अलि पूर्वपट्टि खड्काले पिङ हाल्थे । औरही रोड, बजारमुनिको टोल र स्कुल टोलमा गरी बर्दीबासका पाँच ठाउँमा पिङ हालिएको हुन्थ्यो ।” 

पिङ बनाउने काममा समुदायका सबै उमेरका मानिस सहभागी हुन्थे । दसैं नजिकिने बेलासँगै कतै चन्दा सङ्कलन गरेर बाबियोलगायतका सामानको जोहो गरिन्थ्यो । वनले समेत पिङ हाल्ने लिङ्गो सहयोग गर्थ्याे । कतै बाँसकै लिङ्गो हाल्थे । चुरेको डाँडाबाट बाबियो काटेर ल्याइन्थ्यो । गाउँमा बाबियो आइपुगेपछि पिङ बनाउन सुरु हुन्थ्यो । 

बुढापाकाको निर्देशनमा बाबियोबाट लठारो बनाउने, गाँठो बाँध्ने, काम्रो बनाउनेलगायतका काममा सबैले हात लगाउँथे । युवाले लिङ्गो काटेर ल्याउँथे । कोही लिङ्गो गाड्न खाल्डो खन्न लाग्थे भने बालबालिकाको चुरुफुरी बेग्लै हुन्थ्यो । चिच्याउँदै र उफ्रिँदै रमाइलो गर्दै अहिले नै पिङमा मच्चिहालूँ जस्तो गरेर बेग्लै उमङ्ग थप्थे । 

त्यस्तो दसैँ अब सम्झनामा मात्र सीमित रहेको बर्दीबासका ज्येष्ठ नागरिक भवानी क्षेत्री बताउनुहुन्छ । सहरीकरण, स्थान अभाव, सामाजिक सञ्जाल, युवापुस्ताको विदेश पलायन जस्ता कारणले मधेशबाट दुई दशकदेखि पिङ संस्कृति हराउँदै गएको हो । 

उहाँले सम्झनुभयो, “हिजो पिङ हालिने बर्दीबासका ठाउँमा अहिले ठुलठुला घर ठडिएका छन् । चुरेको डाँडाबाट बाबियोको घारी हराएको छ । पातलिँदो वनमा सोझा र अग्ला लिङ्गो पाउन छाडिएको छ । अनि संस्कृति जगेर्नामा ऊर्जा थप्ने युवा विदेश र नवयुवा सामाजिक सञ्जालमै अल्झने कारणले पिङ संस्कृति हराउँदै गएको हो ।” पिङ परम्परा र रमाइलोमा मात्र सीमित नभएर मानव स्वास्थ्यसँग यसको सिधा सम्बन्ध रहेको बर्दीबास अस्पतालका डा. रीतेश घिमिरे बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पिङ स्वस्थ मनोरञ्जनको विकल्प पनि हो । पिङ खेल्दा शारीरिक सन्तुलन र तन्दुरुस्तीमा सहयोग पुग्नुका साथै आत्मविश्वास वृद्धि गर्छ । पिङको रमाइलोले थकान मेट्न र मानसिक स्वास्थ्यमा पनि योगदान पु-याएको हुन्छ ।”

बर्दीबास–३, कालापानीनिवासी एवं पूर्वप्रशासक रामकुमार कार्कीका अनुसार पिङ केवल रमाइलोको साधन होइन; यो हाम्रो संस्कृति, परम्परा र पहिचानको हिस्सा पनि हो । उहाँले अन्यत्र हराउँदै गए पनि आफ्नो गाउँमा भने पिङको संरक्षण हुँदै आएको दाबी गर्नुभयो । कार्की भन्नुहुन्छ, “हरेक वर्ष हामी आफ्नो गाउँ कालापानीमा पिङ बनाउँछौँ । हाम्रा संस्कार र संस्कृति पुस्तान्तरण गर्न पनि यो महत्वपूर्ण छ ।”