देवराम यादव
सप्तरी, असोज १० गते । हिन्दु धर्मावलम्बीले मनाउने बडादशैंको पहिलो दिनदेखि सप्तरीसहित देशैभरका विभिन्न शक्तिपीठहरुमा भक्तजनको घुइँचो लाग्न थालेको छ ।
विश्व सम्पदासूचीमा रहेको सप्तरीको प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिर तथा कंकालिनी मन्दिरमा समेत भक्तजनहरुको बिहानैदेखि घुइँचो लाग्नेगरेको छ ।
बडादशैं अवधिभर नेपालसहित छिमेकी भारतबाट हजारौंको सङ्ख्यामा भक्तजन छिन्नमस्ता भगवती मन्दिरमा पूजापाठ तथा बलि प्रदान गर्नेहरुको भिड हुनेगरेको पीठाधीश महाकान्त ठाकुरले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । यसैगरी बडादशैंमा प्रसिद्ध कंकालिनी मन्दिरमा विजयादशमी अवधिभर हजारौंको भक्तजनले पूजापाठ गर्नुका साथै पशुको बलि दिने प्रचलन रहेको स्थानीय गङ्गाप्रसाद साहले बताउनुभयो ।
घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र भनिन्छ । नवरात्रभर अधिष्ठात्रीदेवी दुर्गाका नौ रुपको पूजा गरिन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटाैं दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।
दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । यस वर्ष दशैंको टीका असोज १६ गते परेको छ ।