• १६ असोज २०८२, बिहिबार

थारू बस्तिमा दसैँको सख्या गुन्जिदै

blog

दसैँको सख्या नाच्दै घोराही १७ गुलरिया गाउँका थारू समुदाय । तस्बिरः सन्तोष दहित

सन्तोष दहित
दाङ, असोज १० गते ।
दसैँमा नाचिने थारू समुदायको प्रख्यात सख्या पैयाँनाच थारू बस्तीमा सुरु भएको छ । दसैँ आउनुअघि थारू समुदायले एक हप्ता अगाडिदेखि नै सख्या पैयाँनाच नाचेर दसैँलाई स्वागत गर्ने गर्दछन् ।

दसैँ सुरु भएसँगै दसैँको नाच नाच्न सुरु गरिएको घोराही उपमहानगरपालिका–६, लख्वारका राजन चौधरीले जानकारी दिनुभयो । उहाँको अनुसार लख्वारसहित छिमेकी थारु गाउमा समेत दर्शको नाच सुरु गरिएको उहाँले बताउनुभयो ।

यस्तै, घोराही ७ हनरिया गाउँमा पनि दसैँमा सुरु गरिएको स्थानीय विनिता चौधरीले बाउनुभयो । यसैगरी, दंगीशरण ३ हेकुलीका लोकमान चौधरीले पनि दसैँको नाच नाच्ने सुरु गरिएको जानकारी दिनुभयो । “दंगीशरणमा धेरै गाउँमा दशैको सख्या  पैया नाच सुरु भइसकेको छ,’’ उहाँले भन्नुभयो, ‘‘हामीले पनि जमरा राखेको दिनदेखि नाच्न सुरु गरेका हौं, तर अरु गाउँमा एक हप्तादेखि नाच्दै आएका छन् ।” उहाँले गाउँको मटावाँको घरमा नाचिने सख्या पैया नाच करिब एक महिनासम्म थारू बस्तीमा सख्या नाच नाच्ने गर्दछन् । दसैँ सुरु भएसँगै अहिले थारु बस्तिहरुमा दसैँको  रौनक बढेको छ । दसैँको तयारीसँगै दसैँको सख्यापैया नाचले अहिले थारु बस्तिहरु सख्यागीतले गुन्जायमन बनेकाछन ।

दसैँमा नाचिने सख्या पैयाँनाच थारू समुदायमा प्रख्यात मानिन्छ । थारू समुदायका युवायुवतिहरुले दिउँसभरीको काम सकाएर खानपीन गरेपछि राति ८ बजेदेखि गाउँको मटाँवाको घरको आँगनमा सख्या पैया नाच नाच्ने गर्दछन् । दसैँको तीन दिन बाहेक थारू समुदायले रातीको समयमा सख्या पैया नाच्ने गरेको दंगीशरण गाउँपालिका–३, हेकुली गाउँकी सख्या पैया नाच टोलीको अगुवा (मोह्रिन्या) सिरु चौधरीले जानकारी दिनुभयो ।

उहाँको अनुसार अविवाहित युवती (बठिन्या) थारू मौलिक भेषभूषामा सजिएर हातमा मन्जिरा बजाउँदै एक स्वरमा सख्या गाउँछन् भने पुरुष (मन्ड¥या)ले मादल बजाएर साथ दिन्छन् । “दसैँ सुरू हुनु अगावै थारू गाउँबस्ती दसैँको रौनक हुन्छ,’’ उहाँले भन्नुभयो, ‘‘यो नाच विशेष गरेर लुम्बिनी प्रदेशका दाङ, बाँके, बर्दिया, सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र कर्णाली प्रदेशको सुर्खेतका थारू बस्तीमा नाचिन्छ ।” सख्या नाच नाच्ने वेला दुई वटा समूह बनाएर नाच्ने गरेको मोह्रिन्या चौधरी बताउनुभयो । उहाँको अनुसार एउटा समूहको नेतृत्व मोह्रिन्याले गर्छन् भने अर्को समूहको नेतृत्व पछगिन्याले गर्छन् । सख्या गीत गाउँदा शुरूआतमा मोह्रिन्याको समूहले र दोस्रो पटक पछगिन्याको समूहले गाउने गरेको चौधरीले बताउनुभयो । मन्डर्‍या भने जुन समूहले गीत गाउँछ त्यही समूहतर्फ गएर मादल बजाउने गर्दछन् ।  यसरी सख्या नाचसँगै बिचबिचमा विभिन्न किसिमका पैया नाच पनि देखाइने उहाँको भनाइ छ ।

सख्या नाच र गीत एउटै भए पनि गाउँठाउँ अनुसार फरक फरक किसिमले नाच्ने गरिन्छ । सख्या पैया नाच प्राय गाउँका मटावा, बडघरको आँगनमा नाचिन्छ । दिनभरि खेतबारीको काम सकाएर रातिमा सख्या नाच्ने चलन छ । गाउँले टीका (सेतो टीका) अर्थात् नवमीको दिनदेखि बडादशैंको दिनसम्म भने दिउँसै सख्या नाच्ने गरिन्छ । करिब एक महिनासम्म नाचिने सख्या नाच भदौमा गरिने हार्‍या गुरै पूजा शुरू भएदेखि बडादसैँपछि एक साता पछिसम्म सामूहिक रूपमा मादल र मन्जिराको साथमा गीत गाउँदै सख्या नाच्ने गरेको मटावा महासंघ दाङका अध्यक्ष एवम् थारू कल्याणकारिणी सभाका पूर्व अध्यक्ष चन्द्रप्रसाद चौधरीले जानकारी दिनुभयो ।