• १५ असोज २०८२, बुधबार

सिँचाइ सुविधा विस्तार भएपछि किसानलाई राहत

blog

म्याग्दे गाउँपालिकामा गरिएको निर्माण गरिएको पक्कि कुलो । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, असोज १० गते ।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँले चालु आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा सिँचाइ सुविधा थप विस्तार गरेको छ । यस अवधिमा चार हेक्टर क्षेत्रफलमा नयाँ सिँचाइ सुविधा पुगेको छ भने छ वटा सिँचाइ आयोजना सम्पन्न भएका छन् ।

कार्यालय प्रमुख मोहनराज आचार्यका अनुसार हालसम्म तनहुँ जिल्लामा १३ हजार ५८३ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । यसमध्ये ६ हजार ३४७ हेक्टर क्षेत्रमा वर्षभर सिँचाइ सुविधा उपलब्ध छ, जसले किसानलाई प्रत्येक मौसममा खेती गर्न सहज बनाएको छ । गत आर्थिक वर्षमा कार्यालयले चार वटा इन्टेक निर्माण, सात हजार २३३ मिटर क्यानल लाइनिङ, नौ हजार ३१४ मिटर पाइपलाइन विस्तार, साथै एक हजार ३९० मिटर ग्याविन वाल निर्माण गरी करिब १३ हेक्टर जमिन सुरक्षित बनाएको जनाएको छ ।

यससँगै प्रदेश तथा सङ्घीय सरकारको बजेटमार्फत नदी नियन्त्रण, तटबन्धन र बाढीपहिरोबाट क्षतिग्रस्त संरचना पुनःस्थापनामा पनि आवश्यक कामहरू सम्पन्न भएका छन् । सिँचाइ आयोजना सञ्चालनसँगै स्थानीय स्तरमा रोजगारीको सिर्जनासमेत भएको छ । घिरिङ–३ फदुवा छबिसेमा २५, घिरिङ–१ गडीझौरीटारमा ४०, म्याग्दे–७ रानीटारीमा १५ र ऋषिङ–४ मनादी खोला भिरकोटमा २५ जना स्थानीय रोजगार प्राप्त भएका छन् । यसरी सिँचाइ सुविधा विस्तारसँगै किसानले खेती गर्न सजिलो भएको भनी कार्यालयले जानकारी दिएको छ ।

आचार्यका अनुसार जिल्लाको कुल ६५ हजार ६१ हेक्टर खेतीयोग्य जमिनमध्ये हाल ५१ हजार ५१० हेक्टरमा मात्रै खेती हुने गरेको छ र बाँकी क्षेत्रमा अझै सिँचाइ सुविधा पुर्‍याउने योजना अघि बढाइएको छ ।  सिँचाइ सुविधा विस्तारले जिल्लाका किसानको उत्पादन र आर्थिक अवस्था सुधार गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।