काठमाडौँ, असोज १५ गते । नेपालको प्रख्यात काठमाडौँ म्याराथनको १७औँ संस्करण आगामी कात्तिक १५ गते हुने भएको छ ।
आयोजक एनआरएस स्पोर्ट्स फाउन्डेसनले बिहीबार पत्रकार सम्मेलन गरी म्याराथनको मिति सार्वजनिक गरेको हो ।
म्याराथनमा स्वदेश र विदेशका गरी पाँच हजार खेलाडीको सहभागिता रहने फाउन्डेसनका अध्यक्ष एवं म्याराथनका संस्थापक निलेन्द्रराज श्रेष्ठले जानकारी दिनुभयो । जसमा दुई सय विदेशी धारवको सहभागिता रहनेछ ।
‘नेपालीको लागि नेपाल, सम्बन्ध सधैँभरीलाई’ भन्ने नाराका साथ सञ्चालन हुने म्याराथन काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाबाट सुरु भई काठमाडौँ, भक्तपुर, ललितपुर, ठिमी परिक्रम गरेर पुन: दशरथ रङ्गशालामा आएर सकिनेछ ।
प्रतियोगिातमा म्याराथनसँगै विभिन्न १३ स्पर्धा समावेश गरिएको छ । जसमा चार वर्षदेखि ७० वर्षमाथि उमेरका धावकले प्रतिस्पर्धा गर्न सक्नेछन् ।
म्याराथनलाई सिद्धार्थ बैँकले मुख्य प्रायोजन सहयोग गर्ने भएको छ । प्रायोजनसम्बन्धी सम्झौता पत्रमा बिहीबार नै दुवै पक्षबिच हस्ताक्षर भएको छ ।