• १८ असोज २०८२, शनिबार

पश्चिम नवलपरासीमा १५ करोडको क्षति अनुमान

blog

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका भवन ।

पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी, असोज ८ गते । 
जेनजी प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडबाट पश्चिम नवलपरासीका सरकारी कार्यालयहरू र निजि सम्पत्ति गरी झन्डै १५ करोड रुपियाँको प्रारम्भिक क्षति भएको अनुमान गरिएको छ ।

क्षतिको सबैभन्दा ठुलो क्षति भएको हिस्सा स्थानीय तहमा देखिएको छ, जहाँ करिब सात करोड रुपियाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । अहिलेसम्म प्राप्त विवरण अनुसार, सबैभन्दा बढी क्षति बर्दघाट नगरपालिकामा भएको छ ।

क्षति विवरण सङ्कलन गर्न गठन भएको क्षति मूल्याङ्कन समितिले दिएको प्रारम्भिक विवरण अनुसार, १३ वटा सरकारी कार्यालय र सार्वजनिक संस्थाहरू सहित निजी सम्पत्ति भएको आगजनी र तोडफोडबाट ठुलो क्षति भएको छ ।

समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी पोषन राज भण्डारीले यो मूल्याङ्कन सुरुवाती चरणको मात्र भएको र वास्तविक क्षति अझ बढी हुन सक्ने बताउनुभयो ।

सरकारी संरचनासहित निजी सम्पत्तिको क्षति पनि बढी छ । अहिले सरकारी सम्पत्तिको क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको छ भने निजी सम्पत्ति तथा संघसंस्थाको क्षतिको विवरण पीडितहरूबाट निवेदन मागेर सङ्कलन भइरहेको छ । क्षतिको पूर्ण र विस्तृत विवरण आउन बाँकी नै छ ।