• १३ असोज २०८१, आइतबार

फलफूलमा ‘कार्बाइड’ नराख्न आग्रह

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असार १५ गते ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले फलफूल पकाउनका लागि कार्बाइड नामक एसिटिलिन ग्यास प्रयोग नगर्न व्यवसायीलाई सचेत गराएको छ । विभागका अनुसार अहिले आँपको सिजन भएको र काँचो आँप पकाउन यस प्रकारको ग्यास प्रयोग हुने भएकाले त्यसो नगर्न आग्रह गरेको हो । 

विभागका निर्देशक मोहनकृष्ण महर्जनले विभागको अनुगमनका क्रममा यस प्रकारको ग्यास प्रयोग गरेको नपाइए पनि काँचा फलफूल पकाउन प्रयोग हुन सक्ने भएकाले सचेत गराइएको जानकारी दिनुुभयो । “केही वर्षपहिले यस प्रकारको रसायन आँप पकाउन प्रयोग गरिएकाले यसप्रति व्यवसायीलाई सचेत गराएका हौँ, ।” 

स्वास्थ्यमा प्रतिकूल असर पार्ने उक्त ग्यासको प्रयोग गरेर काँचो फलफूल पकाउनु खाद्य नियमावली २०२७ विपरीत भएको उहाँको भनाइ छ ।  व्यावसायिक रूपमा फलफूल पकाउन पर्ने व्यवसायीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको स्वीकृत रसायन मात्रै प्रयोग गर्न पनि विभागले सचेत गराएको छ । इथोमिङ नामक ग्यास रसायन अन्तर्राष्ट्रिय मापदण्डअनुसार काँचा फलफूल पकाउनका लागि प्रयोग हुँदै आएको छ । तर, कार्बाइड एसिटिलिन ग्यास स्वास्थ्यका लागि हानिकारक भएकाले सचेत हुनुपर्ने निर्देशक महर्जनले बताउनुभयो ।