शेरबहादुर सार्की
बाजुरा, असोज ७ गते । हिउँद र बर्खाको समय भोको पेट पाल्नकै लागि रोजगारी गर्न भारतमा तथा विभिन्न सहरमा गएका बाजुराका स्थानीयवासी यति बेला भने धमाधम गाउँ फर्किंन थालेका छन् ।
नेपालीहरुको महान चाँडपर्व यसै असोज १६ गते रहेकाले त्यसै दसैँ तिहार मनाउँनकै लागि उनीहरु यती बेला धमाधम घर फर्किन थालेका हुन् ।
नेपाल–भारत सीमानाका तथा राजधानी काठमाडौँ र धनगढीबाट धमाधम घर फर्किन थालेपछि बर्खाको समयमा खाली हुँदै गएका गाउँबस्ती यती बेला भने भरिन थालेका छन् ।
गाउँमा रहेको व्यरोजगारीले प्रदेशीन बाध्य हुने गरेको भए पनि दसैँ तिहारलगायतका नेपाली चाँडपर्वमा आफु सधैँ घर फर्किने गरेको त्रिवेणी नगरपालिका ६ प्रकाश बिकले बताउनुभयो ।
उहाँले भन्नुभयो, “गाउँमै बसेर केही गर्ने त मन थियो । तर के गर्ने यहाँ म केही काम पाउँदैन । खेती किसान गरौँ भने पनि आफुसँग जमिन पनि छ । त्यो जमिनमा सिँचाइ सुविधा छैन ।”
हिउँदमको महिना पैसा कमाउन भारतमा गएको थिए । अहिले बल्ल गाउँमा पुगेको छु । यती बेला सबै घरपरिवारसँगै बसेर दसैँ तिहार मनाउँछु । त्यसपछि फेरि उतै जाने योजना रहेको विकले बताउनुभयो ।
गाउँमा रोजगारीको अवसर नमिल्दा बाजुराका अधिकांश स्थानीयले बर्खाको खेतीपाती सकाएर दसैँ खर्चको जोहो गर्न सधै भारतमा जाने गर्छन् ।
कात्तिक–मङ्सिरमा गहुँ र असारमा धान कोदो खेती लगाउने समयमा गाउँ आउने र त्यसपछि फेरि कामको खोजीमा जाने गर्छन् ।
यहाँका अधिकांश स्थानीय माघमा माघी र चैत–वैशाखमा वीसु र यति बेला भने दसैँतिहार मनाउन गाउँ फर्किने गर्दछन् ।
दसैँतिहार मनाउँछौँ त्यसपछि फेरि कामको खोजीमा भारतमा गइहाल्छौँ, बिकले भन्नुभयो, “यहाँका स्थानीयको यो बाध्यता अहिले नभई पहिलेका पुस्तादेखि नै चलिआएको छ ।” हुन त गाउँमै रोजगारीका धेरै सम्भावना छन् तर कृषिप्रति युवाको आकर्षण घटेको छ ।
गाउँबस्ती खाली हुने समस्या पहिलेको भन्दा अहिले झनै बढ्दै गएको छ । जिल्लाका अधिकांश बस्ती पहिरोले तहसनहस पारेकाले अहिले ती बस्तीका अधिकांश स्थानीय गाउँबस्ती छोडेर धमाधम भारतमा गएर पेट पाल्न थालेपछि अहिले यहाँका गाउँ बस्ती रित्तिँदै गएका हुन् ।
जिल्लाका बुढीगङ्गा, त्रिवेणी, खप्तड, छेडेदह, गौमुल, बडीमालिका हिमाली, स्वामिकात्तिक, जगनाथ, बुढीनन्दा नगरपालिकालगायतका गाउँबस्तीका स्थानीय आर्थिक अभावकै कारण प्रदेशिन बाध्य भएका छन् ।
गत साउनमा जसरी भारतमा जाने गरेका थिए । त्यसै सङ्ख्यामा अहिले जिल्ला बाहिर गएका यहाँका स्थानीय यती बेला गाउँ फर्किने गरेका छन् । पहिलो तलदेखि बस खाली आउने गर्थ्ये भने अहिले माथिदेखि खाली र तलदेखि भरिभराउ गरेर आउने गरेको बाम्का बजार टिकट काउन्टरका इन्चार्ज जनक बुढाले बताउनुभयो ।