लीलाधर वली ।
घोराही, असोज ५ गते । दाङको घोराहीमा पाँच सय शय्याको सञ्जीवनी शिक्षण अस्पताल सञ्चालनमा आउने भएको छ । दाङलगायतका पश्चिम राप्ती क्षेत्रका नागरिकलाई विशेषज्ञ सेवा प्रदानसँगै स्वास्थ्य क्षेत्रका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने गरी अस्पताल निर्माण हुन थालेको हो । करिव चार अर्ब लगानीमा घोराही उपमहानगरपालिका–३ भानपुरमा निर्माण भएको सञ्जीवनी शिक्षण अस्पताल असोज ६ गतेदेखि सञ्चालनमा आउन थालेको हो ।
पाँच सय शय्याको अस्पताल सञ्चालन गर्ने गरी निर्माणको काम भइरहेको भए पनि अहिले तीन सय शय्याको मात्र अस्पताल सञ्चालन गर्न थालेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत दिपक रोकाले जानकारी दिनुभएको छ । उहाँका अनुसार अस्पताल सञ्चालनका लागि पाँच विघा क्षेत्रफलमा तीन तलाका नौ वटा भवन निर्माणको गरिएको छ ।
अस्पालको भौतिक संरचना निर्माण गरेर जनशक्ति व्यवस्थापनको काम सकिएको छ । उहाँका अनुसार अस्पताल सञ्चालनका लागि प्राविधिक, प्रशासनिकसँगै अन्य गरेर तीन सय ५० जना जनशक्ति भर्ना गरिएको बताउनुभयो । अस्पताल सञ्चालनमा आएपछि जनरल फिजिसिएन सेवा, जनरल सर्जरी, स्त्रीरोग तथा प्रसुति, बालरोग तथा शिशु सेवा, दन्त चिकित्सा, हाड जोर्नी, सामान्य आँखा उपचार, फिजियोथेरापी, ऐनेस्थेसियोलोजी, नाक कान घाँटी, मानसिक, चर्म तथा यौन रोग तथा विशिष्टिकृत सेवाअन्तर्गत कार्डियोलोजी, न्युरोलोजी, युरोलोजी, नेफ्रोलोजीलगायतका सेवा दिइने बताउनुभयो ।
अस्पतालमा १४ वटा मोडुलर शल्यक्रिया कक्ष, भेन्टिलेटरसहित आईसीयु, एनआईसीयु, पिआइसियु, एसआईसीयु, एचडियु तथा हेमो डाइलासिसलगायतका सेवा प्रदान गर्ने गरी सञ्चालनको तयारीमा रहेको प्रमुख कार्यकारी अधिकृत रोकाले बताउनुभयो ।
बिरामीको सुविधाका लागि सामान्य वार्डदेखि डिलस्स वार्डसम्म रहेका छन् । सुविधा भएपछि जटिल प्रकृतिका प्रसुति तथा अन्य शल्यक्रियाका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने प्रमुख कार्यकारी अधिकृत रोका बताउनुहुन्छ ।
अस्पताल सञ्चालन भएपछि दाङसहित प्युठान, रोल्पा, रुकुम, सल्यानका नागरिकलाई स्वास्थ्य सेवा लिनका लागि सहजता हुने अपेक्षा गरिएको छ । अस्पताल सञ्चालन भएको एक वर्षपछि नर्सिङ र प्यारामेडिकल विषय र तीन वर्षपछि एमबिबिएस, बिडिएस, एमडीलगायतका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने तयारी अनुसार अस्पताल सञ्चालन हुनेछ ।
कोहलपुरमा नेपालगन्ज मेडिकल कलेज, भैरहवामा युनिभर्सल मेडिकल कलेज, पोखरामा गण्डकी मेडिकल कलेजका सञ्चालक समेत रहेका खुमाप्रसाद अर्यालले दाङमा सञ्जीवनी शिक्षण अस्पताल सञ्चालनमा ल्याउन लाग्नुभएको हो ।