• १९ असोज २०८२, आइतबार

सप्तरीमा मोटरसाइकल ठक्करबाट घाइते वृद्धको मृत्यु

blog

विनय कर्ण
कल्याणपुर (सप्तरी), असोज ५ गते ।
सप्तरीको बोदेबर्साइन नगरपालिका–५ भाटिनस्थित हुलाकी सडक खण्डमा मोटरसाइकलको ठक्करबाट घाइते भएका एक वृद्धको मृत्यु भएको छ ।

गत २०८१ फागुन २१ गते बेलुकी ७ः३५ बजे कुशमहारबाट बोदेबर्साइनतर्फ आउँदै गरेको बा.प्र.०२–०३२प.३२२३ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएका पैदलयात्री सोही ठाउँका ६० वर्षीय जुगति रामको उपचारपछि मृत्यु भएको हो ।

दुर्घटनामा बायाँ खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको रामलाई जीवन ज्योति अस्पताल बोदेबर्साइनमा उपचार हुँदै गर्दा स्वास्थ्य अवस्था गम्भीर भएपछि भोलिपल्टै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मा पठाइएको थियो ।

उपचारपछि गत फागुन २८ गते उहाँलाई डिस्चार्ज गरी घर ल्याइएको भए पनि स्वास्थ्यमा समस्या देखिएकाले रामको आइतबार घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।

घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बोदेबर्साइनको टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याइएको उहाँले बताउनुभयो ।

दुर्घटनामा संलग्न मोटरसाइकल नियन्त्रणमा लिइएको र चालक सोही ठाउँका वडा नम्बर १ धनगढी घर भएका ३६ वर्षीय भगवती प्रसाद साहबारे अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकल चालक साहसँग सवारी चालक अनुमतिपत्रसहितका कागजपत्र नरहेको र मापसे गरेको अवस्थामा दुर्घटना भएको थियो ।