• १९ असोज २०८२, आइतबार

अनुसन्धान बिना निर्दोषमाथि मुद्दा दर्ता भएको पीडित परिवारको आरोप

blog

पीडित परिवारले आयोजना गरेको पत्रकार सम्मेलन सहभागीहरु । तस्बिर : प्रवीण कुमार शर्मा

प्रवीण कुमार शर्मा 
चन्द्रपुर (रौतहट), असोज ५ गते ।
कर्तव्य ज्यान कसुर मुद्दामा अनुसन्धान नै नगरी तीन जनालाई ज्यान मुद्दा दर्ता गरेको आरोप पीडित परिवारले लगाएका छन् । रौतहटको कटहरिया नगरपालिका–५ का ५२ वर्षीय रामचन्द्र दास सरभंग र उहाँकी श्रीमती पुकारी देवी सरभंगले शनिबार सदरमुकाम गौरमा पत्रकार सम्मेलनमा गरुडा प्रहरीले अनाहकमा तीन जना छोरालाई फसाएको आरोप लगाउनुभएको हो ।

पाँच जना छोरामध्ये गर्भु दास सरभंग, प्रभु दास सरभंग र शम्भु दास सरभंगमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गर्नुअघि नै गर्भुलाई इलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएको उहाँले बताउनुभयो  ।

पीडित परिवारका अनुसार कटहरिया नगरपालिका–४ का संजय यादव र विजय यादवले स्थानीय नसिव बैठालाई मोबाइल चोरीको आरोपमा निर्घात कुटपिट गरेको घटनामा आफ्नो छोराको संलग्नता नरहे पनि प्रहरीले उनीहरुलाई पक्राउ गरेको उहाँको भनाइ छ ।

नसिवको स्वास्थ्य अवस्था गम्भीर भएकै अवस्थामा गर्भुलाई प्रहरीले गत भदौ १० गते नियन्त्रणमा लिएका थिए । त्यसको भोलिपल्ट बैठाको मृत्यु भएको थियो । यस घटनाको सबै दोष गर्भुमाथि प्रहरीले थुपारेको आमा पुकारी देवीको भनाइ छ ।

आर्थिक चलखेलको कारण कुटपिट गर्ने व्यक्तिको नामको साट्टा आफ्नो छोराहरुको नाममा किटानी जाहेरी दिन लगाइएको आरोप पुकारी देवीको छ । उहाँले अनुसन्धान बिनानै दलित परिवारलाई उठिवास गराउने नियतबाट मुद्दा दर्ता गरेको पत्रकार सम्मेलन मार्फत दुःखेसो पोख्नुभयो ।

यस विषयमा इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक राजन कार्कीले मोबाइल चोरीको घटनामा कुटपिट भएको केही समयपछि नसिवको मृत्यु भएको बताउनुभयो । मृतकको आमाले भदौ १५ गते तीन जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गराएपछि मुद्दा अगाडि बढेको जानकारी कार्कीले दिनुभयो । साथै उहाँले पक्राउ परेका निर्दोष भए अदालतबाट सफाइ पाउने प्रतिक्रिया दिनुभयो  ।