• २९ भदौ २०८२, आइतबार

खड् जितियाको कठोर उपवास

blog

व्रतालु महिला । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह 

राजविराज, भदौ २९ गते । सन्तानको दीर्घायु, पुत्र प्राप्ति तथा पारिवारिक सुख–शान्तिका लागि मनाइने महान् पर्व जितिया आइतबार दोस्रो दिनमा प्रवेश गरेको छ । यस दिन विवाहित महिलाहरूले कठोर उपवास गर्दै ‘खड् जितिया’ व्रत बसिरहेका छन् ।

शनिबार नहा-खा (नुहाएर खानु) विधिबाट जितिया पर्वको सुरुवात भएको थियो । सप्तरीसहित तराईका जिल्लाहरूमा महिलाहरू नदी, तलाउ वा पोखरीमा स्नान गरी भगवान् जिमतुवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोठ, पिना, तोरीको तेल लगायत प्रसाद चढाएर पूजा गरेका थिए । सो प्रसाद ब्रतालु र उनका परिवारजनले ग्रहण गर्ने परम्परा रहेको व्रतालु सुनिता देवीले बताउनुभयाे ।

ओगटन र कठोर उपवास

आइतबार सप्तमीको बिहान सूर्योदयभन्दा पहिले वा कागको आवाज आउनु अघि महिलाहरूले ओगटन सम्पन्न गरी दिनभर निर्जल उपवास बस्ने गरेका छन् । ओगटनमा घिरौलाको पातमा दही, चिउरा, केरा, पान–सुपारी भगवान् जिमतुवाहनलाई अर्पण गरी त्यसपछि परिवारसँगै ग्रहण गरिन्छ ।

स्थानीय भाषामा ‘माछ मरुवा’ भनेर चिनिने चलनअनुसार व्रतालुहरूले कोदोको रोटी, नुनीको साग र माछा पनि खाने गरेको अर्की व्रतालु सुजान देवीले बताइन । उनका अनुसार त्यसपछि दिनभर न त खानेकुरा, न त पानी ग्रहण गर्दछ । यही कारण यसलाई ‘खड् जितिया’ भनिन्छ ।

धार्मिक–सांस्कृतिक महत्त्व

जितिया व्रतलाई धार्मिक मात्र नभई सांस्कृतिक तथा तान्त्रिक महत्त्वको पर्व मानिन्छ । पण्डित विश्वनाथ झाका अनुसार “यो पर्वमा महिलाले आफैं दिवङ्गत पितृलाई पिण्ड चढाउँछिन्, जसले महिलाको धार्मिक तथा सामाजिक भूमिकालाई अझ महत्त्वपूर्ण बनाउँछ ।”

पौराणिक कथाअनुसार राजा शालिवाहनको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले अपहरण गरेको थियो । राजाले दैत्यसँग युद्ध गरी सातै छोरालाई फर्काइदिएपछि महिलाले राजालाई ‘जिमतुवाहन’ नाम दिएर स्मरण गर्न सुरु गरिन् । त्यसै दिनदेखि महिलाहरूले व्रत बस्ने परम्परा सुरु भएको विश्वास छ ।

भविष्य पुराणमा पार्वतीले महादेवसँग सन्तानको अकाल मृत्यु रोक्ने उपाय सोध्दा, महादेवले जिमतुवाहन व्रत पालना गरे सन्तान दीर्घायु हुने बताएपछि यसको महत्त्व अझ प्रष्ट भएको उल्लेख छ ।

स्यालनी र चीलको कथा

जितियासँग सम्बन्धित कथा अनुसार नर्मदा नदी किनारमा व्रतालु महिलाले व्रत बस्दा स्यालनी र चीलले पनि व्रत बस्ने निर्णय गर्यो । तर स्यालनीले चोरी–छिपी मृतकको मासु खाएपछि व्रत भङ्ग भयो । पुनर्जन्ममा स्यालनी कर्पुरावती र चील शीलावतीका रूपमा जन्मिए । व्रत भङ्गको कारण कर्पुरावतीका सन्तान दीर्घजीवी भएनन् भने शीलावतीका सातै सन्तान दीर्घायु भए । यस कथाले व्रतको कठोरता र महत्त्व उजागर गर्छ ।

व्रत असफल भए कठोर नियम

जितिया व्रतलाई ‘खड् जितिया’ भनिने अर्को कारण यसको कठोर नियम हो । व्रतको दिन महिलाले डकार गर्नु, खकार गर्नु वा जिब्रो टोकिनु पनि व्रत भङ्ग भएको मानिन्छ । एक पटक व्रत असफल भएमा जीवनभर पुनः व्रत बस्न नपाइने मान्यता छ ।

सांस्कृतिक महत्त्व

यस पर्वमा विभिन्न जनावर र चराको पूजा गर्ने परम्परा छ । हिन्दू धर्ममा गाई, परेवा, कुकुर, हाँस, बाघ, मुसो आदि पूजिने भए पनि जितियामा विशेषगरी स्यालनी र चीललाई पूजा गरिन्छ । यसले प्रकृति र जीवजगतप्रतिको आदर दर्साउँछ ।

तीन दिने यो व्रत सोमबार अष्टमीका दिन विधिपूर्वक सम्पन्न गरिने छ । उपवास तोड्ने बेलामा महिलाहरूले पुनः भगवान् जिमतुवाहनलाई पूजा–आराधना गरी व्रत पूरा गर्ने परम्परा छ ।