काठमार्डौँ, भदौ २९ गते । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई कलाकारले बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् । उनीहरूले सामाजिक सञ्जालमार्फत बधाई दिँदै देशले भोगेको मानवीय र जनधनको क्षति, भ्रष्टाचार र बेथितिविरुद्ध उभिएका युवाको सपना पूरा हुने अपेक्षा गरेका छन् ।
अभिनेता हरिवंश आचार्यले सही शासन प्रणाली विकास गर्न हामी सबैको साथ र सहयोग रहने बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “सहिदको आत्माको शान्तिको कामना गर्दै यो विषम परिस्थितिमा नेपाली सेनाको भूमिका र सम्माननीय राष्ट्रपतिले खेल्नुभएको अभिभावकत्व भूमिका सराहनीय छ । कलाकार दीपकराज गिरीले आमा भएर बोकी हेर सन्तानका पीर ! भनेर शुभकामना दिनुभएको छ । यस्तै सतीले सरापेको ग्लानिभाव त्यागेर आमाको आशिष्ले समुन्नत कहलाउने, यो देशको नयाँ चिनारी, नयाँ बिहानी, नयाँ आशा हेर्न आतुर छु भनी नायिका केकी अधिकारीले लेख्नुभएको छ ।
कलाकार अनमोल केसी नेपालले पहिलो महिला प्रधानमन्त्री पाएको र जित हाम्रो पुस्ताको साहसले सम्भव भएको बताउनुभएको छ । यस्तो साहसी र युगान्तकारी परिवर्तनको साक्षी बन्न पाएकोमा हामी सबैलाई साँच्चिकै गर्व लागेको छ, उहाँले लेख्नुभएको छ । ‘युवाको सही हस्तक्षेपले जतिसुकै जरा गाडेको भए पनि खराब व्यवस्था जरैदेखि उखेलेर फ्याँक्न सकिने रहेछ तर हामीले यसका लागि चुकाउनु परेको मूल्यलाई कहिल्यै बिर्सनु हुँदैन ।’ नायिका नीति शाहले नेपालको राजनीतिमा नयाँ अध्यायको सुरुवात भएको धारणा व्यक्त गर्नुभएको छ । हामी परिवर्तन मात्र देखिरहेका छैनौँ, “हामी एउटा ऐतिहासिक क्षणको हिस्सा पनि बनेका छौँ जसलाई अब आउने पुस्ताले सम्झिरहने छ,” उहाँले लेख्नुभएको छ ।
नायिका स्वस्तिमा खड्काले “एक दिनमा एक दिन एकचोटि आउँछ, उलटपुलट, उथलपुथल, हेरफेर ल्याउँछ,” भन्दै बधाई दिनुभएको छ । आशा र विश्वास छ, एउटी आमाले अरू आमाको कोख रित्तिएको सजिलै बिर्सिनुहुन्न र आफ्नो छोराछोरीले चाहेको, देखेको सपना पूरा गर्न निडर, निरन्तर लाग्नुहुने छ । नायिका मिरुना मगरले जेनजी पुस्ताले सम्मानसाथ विजय प्राप्त गरेको र नेपालले पहिलो महिला प्रधानमन्त्री पाएको क्षणको आफू प्रत्यक्षदर्शी बन्न पाउँदा खुसी लागेको बताउनुभएको छ । यस क्रान्तिकारी आन्दोलनका लागि आफ्नो जीवन बलिदान दिनेलाई सम्मान व्यक्त गर्नुभएको छ ।
कलाकार प्रदीप खड्काले नयाँ सरकारलाई आफ्नो जिम्मेवारी पूरा गर्न शक्ति र साहसको कामना गर्नुभएको छ । नायिका सुरक्षा पन्तले कानुन पढ्छु भनेर सपना बोकिरहेका सबै विशेषतः चेलीहरूमा : “पढ्न सुरु गर्नूस् है” भन्ने अभिव्यक्ति व्यक्त गर्नुभएको छ । अभिनेता पल शाहले “देशको इतिहास सुनौलो अक्षरले लेखिने क्षण” भन्दै प्रशंसा गर्नुभएको छ । उहाँले आमालाई घरको आधार मात्र नभई माया, अनुशासन र न्यायको प्रतीकका रूपमा व्याख्या गर्दै अब त्यही आमाको ममतामयी स्पर्शले मुलुकलाई नेतृत्व गर्ने अवसर पाएको बताउनुभएको छ । “युवापुस्ताको दरिलो सपना र सङ्घर्षको प्रतिनिधित्व गर्दै तपाईंको नेतृत्वमा नयाँ आशाको यात्रा सुरु भएको छ ।”
प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार राति शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथग्रहण गर्नुभएको हो । छ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने कार्यभारसहित कार्की अन्तरिम सरकारको कार्यकारी प्रमुखका रूपमा नियुक्त हुनुभएको छ ।