• २९ भदौ २०८२, आइतबार

चल्न थाल्यो सार्वजनिक यातायात

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २९ गते । जेनजी आन्दोलन हिंसात्मक बनेसँगै चार दिनदेखि ठप्प भएको सार्वजनिक यातायात क्षेत्र बिस्तारै लयमा फर्किएको छ । शनिबार काठमाडौँ उपत्यकाबाट बस र माइक्रोबस बढी मात्रामा बाहिरिएको नागढुङ्गास्थित प्रहरी चेक पोस्टले जानकारी दिएको छ । गोङ्गबु नयाँ बसपार्कबाट दिवा र रात्रिबस छुटिरहेका छन् । 

व्यवसायीले स्थानीय सरकारसँगको समन्वयमा सार्वजनिक यातायात सञ्चालन गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । राजमार्गमा रहेका स्थानीय सरकारसँग समन्वय गरेर यातायात चालु गरिएको महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो । 

सिटौलाले भन्नुभयो, “बिस्तारै गाडी चल्न थालेका छन् तर भयमुक्त वातावरण भने अझै बनिनसकेकाले पूर्ण रूपमा सञ्चालन हुन सकिरहेको छैन । सरकारले पनि कुनै निर्देशन दिएको छैन । हामी आफ्नै जोखिममा सञ्चालन सुरु गरेका छौँ, भोलिदेखि अलि सहज होला भन्ने लाग्छ ।” 

व्यवसायीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागसँग अनौपचारिक छलफल गरिरहेका छन् । एक सातापछि दसैँ सुरु हुने भएकाले पनि सार्वजनिक यातायात सञ्चालनमा सरकारले ध्यान दिनुपर्ने सिटौलाको भनाइ छ । उहाँले भन्नुभयो, “दसैँ नजिकै आइसक्यो तर राजनीतिका कारणले हामी अन्योलमै छौँ । बिस्तारै आन्दोलन शान्त हुँदै छ । हामी आइतबार वा सोमबार विभागसँग बैठक बस्दै छौँ ।”

शनिबार उपत्यका प्रवेश गर्ने सवारी भने निकै कम रहेको नागढुङ्गा प्रहरीले जनाएको छ । प्रहरी चेक पोस्टका वरिष्ठ प्रहरी हबल्दार सुमनमणि पौडेलले भन्नुभयो, “आज दिउँसो ३ बजेबाट बाहिरिने सार्वजनिक गाडीहरूको सङ्ख्या बढेको छ । आउने गाडीहरू भने निकै कम छन् । रात्रिबस र माइक्रोबस बढी मात्रामा गएका छन् ।” 

काठमाडौँ उपत्यकामा गत मङ्गलबारदेखि ठप्प रहेको सार्वजनिक यातायात साधन शनिबार भने आंशिक रूपमा सञ्चालन भए । केही बस, माइक्रोबस, टेम्पो र ट्याक्सी सञ्चालन भए । शुक्रबार फाट्टफुट्ट मात्र सवारीसाधन चलेका थिए । 

जेनजी आन्दोलनले सोमबार प्रदर्शन गर्दा नयाँबानेश्वर वरपरबाहेकका क्षेत्रमा सार्वजनिक सवारीसाधन चलेका थिए । मङ्गलबारदेखि भने ठप्प थियो । शनिबार बिहानदेखि काठमाडौँको कफ्र्यु हटाइएकाले सावर्जनिक सवारी क्षेत्र सामान्य बन्दै गएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।