सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । उहाँको नियुक्तिसँगै इतिहासमै मुलुकले पहिलो पटक महिला प्रधानमन्त्री पाएको छ । उहाँले यसअघि पहिलो महिला प्रधान न्यायाधीशका रूपमा रेकर्ड बनाउनुभएको थियो । प्रधानमन्त्री भएपछि अर्को नयाँ रेकर्ड पनि थप भएको छ । यस अर्थमा पनि उहाँ बधाईको पात्र हुनुहुन्छ । प्रधानमन्त्री कार्कीलाई जेनजी आन्दोलनले दिएका म्यान्डेट पूरा गर्न सफलता मिल्ने अपेक्षा गरिएको छ ।
जेनजीको आन्दोलनले चाहेको भ्रष्टाचार नियन्त्रणको जग हाल्नेबित्तिकै यो सरकार बधाईको पात्र बन्ने छ । कतिपयको घर जल्दा पैसाका बिटा जले, ती पैसा राष्ट्र बैङ्कमा जम्मा गरेर मुलुकको हितमा ल्याउन पाएको भए कति राम्रो हुन्थ्यो होला भन्ने अब सोचिरहन परेन । खरानीका बारेमा सोचेर समय फाल्नु व्यर्थ हुन्छ तर अझै पनि त्यस्ता पैसा धेरैका घरमा छन् । साँच्चै छानबिन गर्ने र खोजी गर्ने हो भने नेपालको एक दुई वर्षको बजेट धान्ने पैसा अनेकन नेता र कर्मचारीका घरमा बोरामा कोचेर राखिएको अनुमान गर्न सकिन्छ ।
नयाँ सरकार आन्दोलनको जगमा खडा भएको छ । आन्दोलनलाई समाप्तिमा पु¥याउँदै गर्दा उठेका विवादको समाधान संविधान जोगाएर गरिएको छ, यो लोकतन्त्रका लागि खुसीकै विषय हो । विसं २०६२/६३ को जनआन्दोलनका सहिद र योद्धाको बलिदान रगतलाई पूर्णतः बिर्सेर अघि बढ्न सम्भव पनि थिएन । संविधानमा जे लेखिएको भए पनि जेनजी आन्दोलनलाई नै प्राथमिकता दिएर सरकार गठन गर्नुपर्ने स्वर घन्किरहेका थिए । यसबिचमा मध्यमार्गी बाटो खोजेर संविधान जोगाउँदै प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति सफल हुनुभएको छ । सात दशकको राजनीतिक जीवन नै धरापमा राखेर संविधान रक्षा गर्न सफल हुनुभएकोमा राष्ट्रपति रामचन्द्र पौडेल प्रशंसाको पात्र बन्नुभएको छ । आन्दोलनपछि सबै चिज सर्वस्वीकार्य हुन्छन् भन्ने छैन । कतिपय कार्य सहमतिमा पनि हुनु पर्छ । अहिले पनि आन्दोलनकारी र राजनीतिक दलका प्रतिनिधिसँगको ठुलो रस्साकस्सी पछि मात्रै निकास निस्किएको छ । नयाँ शिराबाट निकास आउँदा सबैलाई पाच्य हुन्छ भन्ने पनि हुँदैन । परम्परागत रूपमा चल्दै आएका दल र मानिसका निमित्त यस्ता कुरा निश्चय नै असहज हुन्छन् । यसलाई पनि नौलो मान्नु पर्दैन । जसले सत्ता हाँकिरहेको थियो र मुलुकको राजनीतिमा प्रमुख स्थान ओगटिरहेको थियो, उसलाई झ्वाट्ट सत्ता छाडेर नयाँ परिस्थितिमा अनुकूलन हुन समय लाग्छ नै । यसलाई पनि स्वाभाविक रूपमा लिन सक्नु पर्छ ।
नवनियुक्त प्रधानमन्त्रीका काँधमा यही जिम्मेवारी आएको छ कि नयाँ शक्तिका जोसपूर्ण इच्छा आकाङ्क्षा सम्बोधन गर्नैपर्ने छ र पुराना शक्तिका आक्रोशलाई पनि मत्थर पार्न होसपूर्ण कदम चाल्न ध्यान दिनुपर्ने छ । यो सरकारका लागि असहज वातावरण छ । आरामसित पाँच वर्षमा यति काम सिध्याउँछु भन्ने फुर्सदको समय सरकारसँग छैन । एक दुई दिन पर्खौँ न, परिस्थिति अलि सहज भएपछि काम गरौँला भन्ने समय र अवसर पनि यो सरकारले प्राप्त गरेको छैन । यो सरकारलाई चुनौती र अवसर दुवै छ समन्वयात्मक तबरले निकास निकाल्न कठिन छ । सबै अन्योल चिरेर चुनौतीलाई बिराम दिँदै अवसरै अवसर सिर्जना गर्नुपर्ने दायित्व यो सरकारले बोकेको छ ।
जेनजीको प्रमुख मुद्दा भ्रष्टाचारसम्बन्धी थियो । सुशासनलाई प्राथमिकतामा राखेर गरिएको आन्दोलनको सफलताबाटै यो सरकार गठन हुन पुगेको हो । भदौ २७ गते राति प्रधानमन्त्रीले शपथ गरेलगत्तैबाट भ्रष्टाचारको गन्ध कतै नआओस् भन्ने जेनजीहरूको त हुँदै हो, त्यसमाथि आमजनताको चाहना पनि यही नै छ । प्रधानमन्त्री कार्कीसँग पुरानो संयन्त्रसँग मिलेर काम गरेको त पर्याप्त अनुभव छ तर यसलाई नयाँ बाटोबाट हिँडाउन नयाँ पाठ पढ्नुपर्ने दायित्व थपिएको छ । पुराना प्रशासनिक संरचनालाई नयाँ शिराबाट हिँडाउन प्रधानमन्त्री आफैँले निकै मेहनत गर्नुपर्ने छ । आजको काम भोलि भन्ने परिपाटी बदल्न सानो परिश्रमबाट सम्भव देखिन्न ।
भ्रष्टाचारबाट आक्रान्त जनताको समर्थनको आन्दोलन पनि हो यो जेनजी आन्दोलन । त्यसैले पनि दुई दिनमै सफल हुन पुगेको कुरालाई नबिर्सी प्रधानमन्त्रीले विगतका भ्रष्टाचारका काण्ड छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नु पर्छ । आयोगका सदस्य उत्तिकै स्वच्छ र निष्कलङ्क हुन जरुरी पर्छ । दबाब र प्रभावमुक्त सदस्यको आयोग गठन हुनै पर्छ । तीस वर्षअघि गरेको भ्रष्टाचारको सजायँ पनि भोग्नुपर्दो रहेछ भन्ने ज्ञान भ्रष्टाचारीमा दिलाउनुपर्ने जिम्मा यो सरकारमा छ । भोलिका दिनमा कसैले भ्रष्टाचार गर्ने प्रयास गर्नुअघि १० पटक सोच्नुपर्ने हिसाबले कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने छ । निष्कलङ्क कार्कीलाई यसमा सफलता मिल्ने नै छ ।
हाम्रा निधिका रूपमा रहेका सिंहदरबार, भक्तपुरको ५५ झ्याले दरबार जस्ता संरचना जलाइएका छन् । सर्वोच्च अदालत, विभिन्न मन्त्रालय जस्ता मुलुकभरका सार्वजनिक संरचना ध्वस्त बनाइएका छन् । ध्वंस मच्चाएर मुलुकलाई ५० वर्षपछि धकेल्ने काम भएको छ । कर्मचारीलाई तलब खुवाउनै हम्मेहम्मे पर्ने गरेको नेपालको अर्थतन्त्रले यी सबै संरचना आफँैले निर्माण गर्न सहज छैन । आन्दोलन अवधिभर ठुलो स्वरले पनि नबोल्ने र शान्तिपूर्ण आन्दोलन गर्ने जेनजीको घोषणा सबैले सुनेकै हो । त्यसैले यो विनाश जेनजी पुस्ताबाट भएको होइन भनी सहजै भन्न सकिन्छ । जसले यो विनाश ग¥यो गरायो उसलाई मुक्ति दिने हो भने नेपालले कहिल्यै प्रगतिको बाटो समाउन सक्दैन । तसर्थ ध्वंसमा संलग्नका माध्यमबाट यसमा उक्साउने तत्वको समेत पहिचान गरी कारबाहीको दायरामा ल्याउन तत्काल उच्चस्तरीय अर्को छानबिन आयोग गठन गर्न त्यत्तिकै जरुरी छ ।
मुलुकभर गरिएको विनाशका कारण आमनेपाली जनतामा निराशा पैदा भएको छ । भ्रष्टाचार उन्मूलनको दिशामा जेनजी पुस्ताले गरेको बलिदानीपूर्ण सङ्घर्षले आशाको सञ्चार गराए पनि आन्दोलनका उपलब्धिलाई छायामा पार्ने गरी भौतिक संरचना ध्वस्त भएका छन् । निराश जनतामा उत्साह पैदा हुने गरी कार्य गर्न सरकारले सक्नुपर्ने छ । उद्योगधन्दा, व्यापारिक प्रतिष्ठान खरानी हुन पुगेका छन्, जसले गर्दा हजारौँ नेपाली जनताको रोजगारी गुमेको छ । मुलुकलाई सङ्कटबाट सरकारले बिस्तारै होइन कि द्रुतगतिमा माथि उठाउँदै छ भन्ने अनुभूति जनतालाई दिलाउन सक्नुपर्ने छ ।
जनताबाट निर्वाचित संसद् विघटन गरिसकिएको छ । अर्को मध्यावधि निर्वाचनका लागि फागुन २१ गतेको दिनसमेत तोकिएको छ । तोकिएको मितिमा निर्वाचन गर्न गराउन सबैको साथ र सहयोग आवश्यक छ । चुनाव चुनावका लागि मात्रै नभई स्वच्छ, निष्पक्ष र भयरहित बनाउनुपर्ने छ । ५१ जनाले ज्यान दिएर र करिब दुई हजार नेपाली जनताले रगत बगाएर सफल बनाएको जेनजीको आन्दोलनको भावनामा कत्ति पनि चोट पुग्ने अवस्था आउन दिनु हुँदैन । आन्दोनल जेनजीले गरेको भए पनि सत्ता साइलेन्ट पुस्तालाई नै सुम्पिएको अवस्थामा पुराना पुस्ताले पनि काम गर्न सक्छन् भन्ने प्रमाणित गर्नु छ ।
जे होस्, संविधान जोगिएको छ । संविधानका केही अप्ठ्यारा धारा बदल्नुपर्ने छ । आमनेपालीले नरुचाएका प्रावधानमा संशोधन गर्नुपर्ने छ । संसद्बाट संशोधन गर्ने बाटो बन्द भएको छ । अध्यादेशबाट सरकार एक्लैले परिवर्तन गरी त्यसपछि निर्वाचन गराउने भन्ने पनि त्यति सहज छैन । आमराजनीतिक सहमतिको बाटो रोजेर अगाडि बढ्नुपर्ने छ । सहमति, सहकार्य र एकताको सन्देश दिन यो सरकार सफल हुनै पर्छ । अन्यथा नेपाली नागरिकले देखेको भ्रष्टाचारमुक्त नेपाली समाजको सपना पूरा हुने छैन ।
आन्दोलनपछिका सरकारलाई कहिल्यै सहज बाटो हुँदैन । कृष्णप्रसाद भट्टराई अन्तरिमकालको प्रधानमन्त्री हुँदा पनि धेरै अप्ठेरा सापना गर्नु परेको थियो । अन्तरिमकालको प्रधानमन्त्रीले सुझबुझ, आँट र साहसका साथ काम गर्न सक्नु पर्छ । मुखले जवाफ फर्काइहाल्नु उचित हुँदैन, काम गरेर देखाउनु पर्छ भन्ने निकट विगतको इतिहासले देखाएकै छ । लोकतन्त्र र कानुनी राज्यका भावनामा कत्ति पनि ठेस नपुग्ने क्रियाकलापका साथ युवादेखि सारा जनताका मनमा यो सरकार बस्न सक्नु पर्छ । नयाँ सरकार शपथ ग्रहणपछि राष्ट्रपतिले भने जसरी सफल होस्, मुलुकलाई सफल बनाओस्, नागरिकको दुःख सुखको साथी बनोस् ।