रमेश विश्वकर्मा
गुल्मी, भदौ २९ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रिय बाल दिवस, २०८२ का अवसरमा सम्पूर्ण बालबालिका, अभिभावक, शिक्षक, नागरिक समाज र बालअधिकारकर्मीप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नारासहित मनाउन थालिएको दिवसले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र समग्र विकासमा सबैलाई प्रेरित गर्ने मुख्यमन्त्री आचार्यले बताउनु भएको हो । शुभकामना सन्देशमा भनिएको छ ‘बालबालिका भविष्यका आधार हुन् । उचित वातावरण, स्याहार, सम्मान र सहभागिताले उनीहरू सक्षम र जिम्मेवार नागरिक बन्नेछन् ।’
मुख्यमन्त्री आचार्यले बालअधिकारका चार आधारभूत सिद्धान्त–भेदभाव रहित, सर्वोत्तम हित, दीर्घजीवन र विकास, तथा विचार र भावनाको कदर–लाई स्मरण गर्दै नेपालले यसलाई कानुनी रूपमा आत्मसात गरी ऐन, नियमहरु कार्यान्वयनमा आएको बताउनु भयो । साथै बाँच्न पाउने, संरक्षण, विकास र सहभागिताको अधिकार सुनिश्चित गरेको भनाइ उहाँको छ ।
लुम्बिनी प्रदेश सरकार संविधानले सुनिश्चित गरेका अधिकारलाई व्यवहारमा उतार्न प्रतिबद्ध रहेको बताउँदै बालबालिकालाई सुरक्षित, स्वस्थ र समान अवसरयुक्त वातावरण उपलब्ध गराउन अभिभावक, समाज र राज्य सबै एकसाथ लाग्नुपर्नेमा जोड दिनुभएको छ ।
यस अवसरमा उहाँले बालबालिकामाथि हुने सबै किसिमका हिंसा, दुर्व्यवहार र विभेद अन्त्य गर्दै बालमैत्री समाज निर्माणमा जुट्न आह्वान गर्नुभयो ।