रामकृष्ण बोहरा
बागलुङ, भदौ २९ गते । भर्जिन गन्तव्य ढोरपाटन शिकार आरक्षको ‘बुकीपाटन क्षेत्र’मा पर्यटकको लर्काे लाग्ने क्रम चलिरहेको थियो । कुनै समय फरक विश्वजस्तो लाग्ने ढोरपाटन क्षेत्रमा पर्यटकको आगमन बढ्दा त्यहाँका होटल व्यवसायसँगै गोठस्टे समेत फस्टाउँदै थिए । ढोरपाटनमा वर्षभरि साढे १५ हजारबढी पर्यटक मुश्किलले पुग्थे ।
ढोरपाटनको प्रचारप्रसार, पर्यटकीय पूर्वाधारको निर्माण, बुकीपाटन र जलजला क्षेत्रमा पदयात्रामा रमाउनेहरुको आगमनले यो वर्षको असार याममा मात्रै झण्डै २० हजार पर्यटक त्यहाँ पुगेका छन् । सडकको सहज पहुँच र होटल व्यवसायको विस्तारले ढोरपाटनमा पर्यटकको लर्काे नै लाग्न थालेको थियो । ढोरपाटनसहित शालग्राम संग्राहले पश्चिमको रारा ताल जाने पर्यटकदेखि मुस्ताङ जानेहरुको प्रवेशद्वारको रुपमा बागलुङलाई लिने गरिन्छ ।
वर्षा याम सकिएसँगै शरद ऋतु सुरु हुँदै छ । यो याम पर्यटकहरु घुमफिरमा रमाउने बेला हो । तर, जेनजी आन्दोलनले बागलुङमा पर्यटकीय गतिविधि शून्य जस्तै छ । पोखरामा आउने पर्यटक बागलुङ घुम्न छुटाउँदैनन् । यहाँ बनेको एशियाकै लामो झोलुङ्गे पुल, धार्मिक गन्तव्य पञ्चकोट र शालग्राम संग्राहलय घुम्न पर्यटकले छुटाउँदैनन् । आन्तरिक र बाह्य पर्यटकले बागलुङका होटल चलायमान हुने बेला जेनजी आन्दोलनले सुनसान बनेका छन् ।
बागलुङमा होटल तथा पर्यटन व्यवसाय प्रमुख रोजगारको आधार हो । जिल्लाका धार्मिक र पर्यटकीय गन्तव्यसहित मुक्तिनाथ र मुस्ताङ घुम्नेको प्रवेशद्वारको रुपमा चिनाउन सक्दा राम्रो व्यवसाय गर्न सकिने बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजन शाक्यले बताउनुभयो । पछिल्लो समय मध्यपहाडी लोकमार्गको बाटोले रारा ताल जाने पर्यटक समेत बागलुङ आउने वातावरण बनेकोमा जेनजी आन्दोलनले व्यवसाय चौपट बनेको गुनासो छ । ‘‘सहज वातावरण बनेकै अवस्थामा पनि पर्यटकको रुपमा घुम्ने संस्कृति कसरी सुधार होला भन्ने धेरैको चिन्ताको बिषय बनेको छ’’ शाक्यले भन्नुभयो ।
‘‘यतिबेला होटलमा पाहुना राख्न भ्याइनभ्याइ हुनुपर्ने हो, तर गेट बन्द गरेर बस्नुपर्ने अवस्था आइलागेको छ’’ होटल व्यवसायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले भन्नुभयो, ‘‘आन्दोलनले व्यवसायमा ठुलो मार परेको छ ।’’ राज्यले शान्तिको प्रत्याभूत दिनुपर्ने बेला राज्यविहिन, सरकारविहिनको अवस्थामा गुज्रनु परेको उहाँले दुखेसो गर्नुभयो ।
पर्यटकीय सिजनमा भएको आन्दोलने आएका पर्यटक पनि फर्किन थालेको होटल व्यवसायी महासंघ गण्डकीका अध्यक्ष अर्जुन चोखाल बताउनुहुन्छ । व्यवसायमा बढेको निरासा चिर्ने गरी कार्यक्रम आउनुपर्ने उहाँको भनाइ छ । आन्दोलनले देशमा सुशासन कायम भए पनि त्यसको प्रतिफल पाउनेमा चोखालले चिन्ता व्यक्त गर्नुभयो । आन्दोलनको निसानामा सधैँ नीजि क्षेत्र पर्नु राम्रो सङ्केत नभएको अध्यक्ष चोखालले बताउनुभयो ।
बागलुङ बजारमा अन्तर्राष्ट्रिय चेन होटल इला कम्फर्ट, दि–राजन, पिस प्यालेस, रेड एप्पल, शितल, समिट, पर्व ठुलो लगानीका हुन् । पर्यटकको बढेसँगै ढोरपाटन उपत्यकामा दुई दर्जन होटल तथा घरबास सञ्चालनमा आएका छन् । आन्दोलनले पर्यटकीय गतिविधि सुनसान बनेको ढोरपाटन सामुदायिक घरबासका सञ्चालनक रामबहादुर घर्ती बताउनहुन्छ ।