• २७ भदौ २०८२, शुक्रबार

कञ्चनपुर कारागारमा १४३ कैदी फर्किए

blog

कञ्चनपुर कारागार । तस्बिरः भवानीदत्त भट्ट

भवानीदत्त भट्ट

कञ्चनपुर, भदौ २७ गते । कञ्चनपुर कारागारमा १४३ कैदी फिर्ता भएका छन् । ‘जेनजी’ आन्दोलनका क्रममा कारागारबाट निस्किएका १४३ कैदीबन्दी कारागारको सम्पर्कमा आएका हुन् । 

आन्दोलनकारीहरुले कारागारमै आएर कुटपिट गरेर कैदी निकालेपछि अहिले कैदीबन्दीहरु सम्पर्कमा आउन थालेको कारागार प्रशासनले जनाएको छ । कञ्चनपुर कारागार प्रशासनका अनुसार, शुक्रवार बिहानसम्म १४३ कैदीबन्दी कारागार फिर्ता भएका छन् । 

४७९ कैदी बन्दी रहेको कारागारमा गत मंगलबार झन्डै साढे चारसय कैदी बन्दी निस्किएका थिए । कारागार प्रशासनका अनुसार, अझै ३ सय १७ कैदी कारागार बाहिर छन् । कञ्चनपुर कारागारमा लागुऔषध मुद्दाका अत्यधिक कैदी बन्दी रहेका छन् ।

कारागार प्रशासनका निमित्त जेलर रामदत्त जोशीका अनुसार, कारागारमा १३ भारतीय नागरिकसहित १४९ पुरुष र ६ महिला गरी १६८ कैदी बन्दी लागू औषध मुद्दाका रहेका छन् । 

यसैगरी जबरजस्ती करणी उद्योगका १ विदेशीसहित ९८ जना पुरुष र २ महिला कैदी छन् । कारागारमा कर्तव्य ज्यान मुद्दाका ५८ जना, ज्यान मार्ने उद्योगका ८ जना, मानव बेचबिखन तथा ओसार पसारमा १८ जना, चोरीतर्फ ६५ जना, ठगी मुद्दाका ९ जना, सवारी ज्यान मुद्दाका १० जना, वन्यजन्तु मुद्दाका १ जना, बहु विवाह मुद्दाका ११ जना, साङ्गठनिक अपराधका ७ जना र विविध मुद्दा अन्तर्गत १० जना कैद भोगिरहेका छन् । कारागारबाट निस्किएका कैदीहरूलाई फिर्ता ल्याउन प्रयासरत रहेको कारागार प्रशासनले जनाएको छ ।