• २७ भदौ २०८२, शुक्रबार

नौबस्ता बालसुधारगृह र कारागारबाट भागेका आठ कैदी बन्दी पक्राउ, २२३ को खोजी जारीे

blog

बाँकेको नौबस्तास्थित बाल सुधार गृह र नौबस्ता कारागार । तस्बिर : सिराज खान

सिराज खान 
नेपालगन्ज, भदौ २७ गते ।
बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता बाल सुधारगृह र क्षेत्रीय कारागारबाट मङ्गलबार राति भागेका २२७ जना बालबन्दी र कैदीबन्दी मध्ये आठ जना पक्राउ परेका छन् भने २२३ जनाको खोजी कार्य भइरहेको छ ।

बालबन्दी र कैदीहरु भाग्ने क्रममा भएको झडपमा परेर पाँच जना बालबन्दीको मृत्यु भएको थियो भने चार जना गम्भरि घाइते भएका थिए । 

भागेका मध्ये चारजना बालबन्दी पक्राउ परेको तथा चार जना कैदीलाई नेपाल भारत जमुनाहा नाकामा भारतीय सुरक्षाकर्मीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएको नौबस्ता क्षेत्रीय कारागार कार्यालयले जनाएको छ ।

नौबस्ता बाल सुधारगृहका प्रमुख श्याम बहादुर रानाले १७२ जना बालबन्दी मध्ये ८० जना सुधारगृहबाट भागेको जनाउँदै ती मध्ये चार जना पक्राउ परेको र चार जनाको समूहले फर्किने भनि सम्पर्क गरेको बताउनुभयो ।

उहाँले फरार रहेका ७३ जना बालबन्दीको खोजी भइरहेको र उनिहरुको बारेमा नेपाल भारत नाकामा समेत जानकारी गराइएको बताउनुभयो ।

सोही प्रकारले बाल सुधारगृहको छेउमै रहेको नौबस्ता क्षेत्रीय कारागारमा रहेका ५८५ कैदीबन्दीमध्ये १४७ जना कैदी भागेकोमा चार जना नेपाल भारत नाकामा पक्राउ परेको सो कारागारका प्रमुख जालन्धर भुषालले बताउनुभयो ।

उहाँले नाकामा पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको जनाउँदै अझै फरार रहेका १४३ जना कैदीको खोजी कार्य भइरहेको बताउनुभयो ।

मङ्गलबार राति सुरक्षाकर्मीसँग भिडन्त गरेर ठुलो सङ्ख्यामा बालबन्दी र कैदीहरु फरार भएपछि बाल सुधार गृह तथा कारागारको सुरक्षा नेपाली सेनाको जिम्मामा दिईएको कारागारका प्रमुख भुषालले बताउनुभयो ।

नेपाली सेनाले सुरक्षा दिन थालेपछि बालसुधार गृह र कारागार दुबैको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।  

यसअघि मङ्गलबार अबेर राति सुरक्षाकर्मीसँग झडप हुँदा बालसुधार गृहमा रहेका दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगरको मृत्यु भएको थियो ।

जेनजी आन्दोलनको समयमा देशभरिकै कारागारबाट कैदीबन्दीहरु भाग्न थालेपछि नौबस्ताका बालबन्दी र कैदीहरु पनि भागेका थिए ।