अर्जुन काफ्ले
स्याङ्जा, भदौ २७ गते । देशभर फैलिएको जेन–जीको आन्दोलनको प्रभाव सर्वोच्च अदालतदेखि स्थानीय अदालतसम्म देखिन थालेको छ ।
आन्दोलनकै कारण सर्वोच्च अदालतमा सञ्चालित सर्भरमा क्षति पुग्दा मुद्दा व्यवस्थापन प्रणाली (सिएमएस) लगायत सम्पूर्ण सिस्टम अवरुद्ध भएको स्याङ्जा जिल्ला अदालतले जनाएको छ ।
यससँगै सार्वजनिक यातायात ठप्प भएपछि मुद्दाका पक्षहरूलाई आवतजावतमा असहज परिस्थिति सिर्जना भएको भन्दै स्याङ्जा अदालतले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा अर्को सूचना नआएसम्मका लागि बिहीबारबाट स्थगित गरेको निमित्त श्रेस्तेदार रामप्रसाद पन्थीले बताउनुभयो ।
स्थानीय परिवेशलाई समेत मध्यनजर गर्दै अदालतबाट दिइँदै आएका सेवाहरूमध्ये अन्तिम हदम्याद मात्र बाँकी रहेका अभियोग, फिरादपत्र वा प्रतिउत्तरपत्र दर्ता, पक्राउ पुर्जी जारी, जरूरी पक्राउ पुर्जी स्वीकृत, म्याद थप र बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदनसेवाबाहेकका सम्पूर्ण सेवा स्थगित गरिएको पन्थीले बताउनुभयो ।
स्याङ्जा अदालतले सरोकारवालाहरूलाई धैर्य राख्न आग्रह गर्दै असुविधाप्रति खेदसमेत प्रकट गरेको छ । यहाँ छ वटा पालिकामा अनिश्चित कालसम्मका लागि सेवा समेत बन्द गरिएको छ भने तीन दिनदेखि विद्यालय समेत बन्द रहेका छन् ।