गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ २७ गते । जेन जी प्रदर्शनका कारण सोमबारदेखि बुधबार (भदौ २३ देखि २५ गते) सम्म बन्द रहेका बैङ्क तथा वित्तीय संस्था बिहीबारदेखि सञ्चालनमा आएका छन् । प्रदर्शनपछि तोडफोड र आगजनीका घटना बढेपछि बैङ्क तथा वित्तीय संस्थाले कार्यालय खोलेर कारोबार गरेका थिएनन् । यद्यपि उक्त अवधिमा डिजिटल कारोबार भने यथावत् नै थियो ।
बिहीबार बिहान नेपाली सेनाले बैङ्क तथा वित्तीय संस्थासहितका कार्यालयसम्म परिचयपत्र देखाएर आवतजावत गर्न सक्ने सूचना सार्वजनिक गरेपछि यी संस्थाले सीमित रूपमा कार्यालय खोलेर कारोबार सञ्चालन गरेका हुन् ।
सेनाको उक्त सूचनापछि नियामक नेपाल राष्ट्र बैङ्कले पनि व्यावसायिक निरन्तरतालाई ध्यानमा राख्दै सीमित कर्मचारीबाट आफ्ना संवेदनशील प्रणाली सञ्चालन गर्न निर्देशन दिएको थियो । जस अनुसार अत्यावश्यक बैङ्किङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारु गर्न र अन्य प्रणालीको हकमा जोखिमका आधारमा घरबाटै पहुँच (रिमोट एक्सेस) मार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउन केन्द्रीय बैङ्कले निर्देशन दिएको थियो ।
सञ्चालनमा आएका शाखा, एटिएम र उपलब्ध सेवासम्बन्धी सूचना वेबसाइट तथा सामाजिक सञ्जालमार्फत जानकारी गराउन पनि राष्ट्र बैङ्कको निर्देशन थियो । उक्त निर्देशनपछि बैङ्कहरूले बिहीबार सञ्चालन हुने शाखाका बारेमा आफ्ना ग्राहकलाई जानकारी गराएका थिए । बैङ्कहरूले भिडभाडलाई ध्यानमा राखेर तोकिएका शाखामा सीमित कारोबार मात्र सञ्चालन हुने जानकारी गराएका थिए । त्यस्तै कारोबार समय बिहान १० बजेदेखि २ बजेसम्मका लागि तोकिएको थियो ।
जेन जी प्रदर्शनको दोस्रो दिन केही बैङ्कमा समेत तोडफोडको प्रयास भएको थियो । नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैङ्क र हिमालयन बैङ्कमा तोडफोड र लुटपाट भएको थियो । त्यस्तै भाटभटेनीका विभिन्न स्टोरमा रहेका बैङ्कका एटिएम बुथमा पनि तोडफोडको प्रयास भएको थियो । जोखिम बढेपछि बैङ्क तथा वित्तीय संस्थाले कार्यालय बन्द गरेका थिए ।