• २७ भदौ २०८२, शुक्रबार

भाटभटेनीका १२ शाखामा पूर्ण क्षति

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २७ गते । आगलागीबाट भाटभटेनी सुपर मार्केटका देशभर रहेका १२ शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

जेन जी पुस्ताले गरेको आन्दोलनका क्रममा आगलागीबाट १२ शाखा स्टोर पूर्ण क्षति र नौ शाखामा लुटपाट र तोडफोड भएको भाटभटेनी सुपर मार्केटले जनाएको छ । सात वटा शाखामा भने कुनै क्षति भएको छैन । आन्दोलनकारीले आगजनी र तोडफोड गरेपछि भाटभटेनीको देशभर रहेका स्टोरमा सामान्यदेखि पूर्ण रूपमा क्षति पुगेको हो । भाटभटेनीको देशभर १२ वटा स्टोर र मुख्य गोदाम पूर्ण रूपमा क्षतिग्रस्त भएको भाटभटेनीका प्रमुख कार्यकारी अधिकृत पानु पौडेलले जानकारी दिनुभयो ।

आगलागीबाट टङ्गाल, महाराजगन्ज, कोटेश्वर, बालुवाटार वेयर हाउस, पोखरा, चितवन, हेटौँडा, बिर्तामोड, दमक, विराटनगर र धरान शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएको उहाँले जानकारी दिनुभयो । यस्तै कलङ्की, राधे राधे, बालाजु, जनकपुर, बुटवल, वीरगन्ज, धनगढी, इटहरी र भैरहवामा भवन तोडफोड र लुटपाट भएको भाटभटेनीले जनाएको छ ।

टोखा, सातदोबाटो, अनामनगर, पाटन, नेपालगन्ज, डब्लुटिसी त्रिपुरेश्वर र सानागाउँ शाखामा भने तोडफोड र नोक्सान नभएको भाटभटेनीले जनाएको छ ।