• २७ भदौ २०८२, शुक्रबार

तनहुँमा भेटिएका दुई महिलाको शवको सनाखत हुन सकेन

blog

मृत्यु भएका दुई महिलाहरु । तस्बिर : गोरखापत्र

अमरराज नहर्की
तनहुँ, भदौ २७ गते ।
तनहुँमा दुई फरक–फरक स्थानमा फेला परेका दुई महिलाको शव हालसम्म सनाखत हुन सकेको छैन । भदौ २५ गते तनहुँको व्यास नगरपालिका–३ देउरालीनगर, बिसघरे, सेती नदी किनारमा र भदौ २३ गते व्यास नगरपालिका–१ तालघरेस्थित डिहीगाउँ–रानीगाउँ जाने पक्कीपुल मुनि बुल्दी खोलामा भेटिएका महिलाको शुक्रबार बिहानसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी अशोक थापाका अनुसार दुवै मृतक महिलाको नाम, थर र वतन खुल्न सकेको छैन । देउरालीनगरमा भेटिएको मृतकको उमेर करिब ५५–६० वर्ष, उचाइ करिब ४ फिट ८ इन्च, अनुहार मङ्गोेलियन, वर्ण गहुँगोरो र कपाल फुलेको हुलिया भएको शव फेला परेको हो ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले घटनास्थलको मुचुल्का गरेर शवलाई पोष्टमार्टमका लागि प्रदेश अस्पताल दमौलीमा राखेको जानकारी दिएको छ ।

यसअघि भदौ २३ गते व्यास नगरपालिका–१ तालघरेस्थित डिहीगाउँ–रानीगाउँ जाने पक्कीपुल मुनि बुल्दी खोलामा डुबिरहेको अवस्थामा करिब ३५ वर्षकी महिला फेला परेकी थिइन् । उनलाई तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल तनहुँ पु¥याइएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।

मृतक महिलाले भेन्टा (पर्पल) रङ्गको टिसर्ट लगाएकी थिइन्, जसको अगाडि सेतो र खैरो रङको गुडियाको चित्र छ । उनको उचाइ करिब ५ फिट २ इन्च रहेको प्रहरीले जनाएको छ । दुवै शव हाल प्रदेश अस्पताल दमौलीको शवगृहमा राखिएका छन् । 

अहिलेसम्म पनि दुवै महिलाको पहिचान हुन नसकेकाले प्रनाउ थापाले बताउनुभयो ।  उक्त हुलियासँग मेल खाने व्यक्तिलाई कोही कसैले चिनेमा तत्काल जिल्ला प्रहरी कार्यालय तनहुँ वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।