चङ्खेली समाचारदाता
हुम्ला, भदौ १६ गते । हुम्लामा सुत्केरीलाई सुत्केरी भएको २० दिनसम्म घरभन्दा अलग्गै गोठमै राख्ने गरिएको छ । देवीदेवता रिसाउने र घरमा समेत जुठो हुने भन्दै सुत्केरी आमा र बच्चालाई २० दिनसम्म गोठमा राख्ने गरिएको पाइएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाको तथ्याङ्क हेर्दा हरेक वर्षमा जिल्लाका सात गाउँपालिकाभरि एक हजार एक सयको हाराहारीमा सुत्केरी हुने गरेका छन् । त्यसमध्ये आधाभन्दा धेरै आमालाई सुत्केरी भएको २० दिनसम्म गोठमै राख्ने गरिएको छ । जिल्लाको नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकामा सुत्केरी आमालाई घरमा राख्ने गरिएको भए पनि सर्केगाड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिकामा सुत्केरी आमालाई गोठमा राख्ने गरिएको छ ।
एक साताअगाडि मात्रै अदानचुली गाउँपालिका–३ की अस्मिता भियाँल र अदानचुली–२ की कौमती बुढा सुत्केरी हुनुभयो । उहाँहरूलाई अहिले घरभन्दा परको गोठमा राखिएको छ । श्रीनगर स्वास्थ्य चौकीमा सुत्केरी भएका उहाँहरू यतिबेला गोठमा बस्न बाध्य छन् । गाउँपालिकाको श्रीनगर स्वास्थ्य चौकीको अनमी शारदा फडेराले बच्चा र आमाको अबस्था बुझ्नका लागि घरमा गएको बेला सुत्केरी भियाँल गोठमा भेटिनुभएको बताउनुभयो । उहाँले सुत्केरीलाई गोठमा राख्नु हुन्न, यतिबेला पोसिलो खानेकुरा खुवाउनु पर्छ भनेर सुझाव दिने गरेको भन्दै सुत्केरी घरमा नभई गोठमा बसालेको पाएको जनाउनुभयो । गोठमै बसेका बेला बच्चा र आमाको स्वास्थ्य जाँच गरेर फर्किएको उहाँले बताउनुभयो ।
उहाँ मात्रै नभई, ताँजाकोट गाउँपालिका–४ की असकला जैसीका घरपरिवारले समेत सुत्केरी भएपछि गोठमै राखेका छन् । सामाजिक संस्कार अनुसार आफूलाई गोठमा बसालिएको सुत्केरी अस्मिताले बताउनुभयो । अहिले उहाँलाई त्यही गोठमै सुत्केरी उत्तार्ने परिवारले तयारी गरेको छ । अझै पनि यहाँ धार्मिक परम्परा भन्दै घरदेखि टाढा गोठमा सुत्केरी गराउने तथा राख्ने चलन छ । २० दिनसम्म सुत्केरीलाई घरभित्र पस्न नदिने चलन रहेको स्थानीय परेस रोकायाले बताउनुभयो । सुत्केरी बस्ने एकान्त ठाउँमा सर्प तथा अन्य जिप जन्तुको डर उस्तै हुने गर्छ ।
स्वास्थ्यकर्मीका अनुसार सुत्केरीका बेला घरको सफा ठाउँमा बस्ने, आराम गर्ने तथा पोसिलो खाने कुरा खानुपर्ने हुन्छ । ज्ञानको अभावले पुरानो मान्यता भन्दै सुत्केरीलाई गोठमा राखिने गरेको अनमी फडेराले बताउनुभयो । “अब यस्ता कुसंस्कार हटाउन अभियान चलाउन जरुरी रहेको स्थानीय अगुवा सुमन बुढाले बताउनुभयो । गाउँपालिकाले अब स्वास्थ्य संस्थामै प्रसूति र सुत्केरीपछि आमा र बच्चा घरमै बसाल्नका लागि अभियान चलाउनुपर्ने सुझाव उहाँले दिनुभयो ।