• १६ भदौ २०८२, सोमबार

अवैध उत्खननमा संलग्नलाई जरिबाना

blog

हरिकृष्ण शर्मा

मुक्तिनाथ (मुस्ताङ), भदौ १६ गते । मुस्ताङमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्नेलाई कडाइ गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गतका संरक्षण व्यवस्थापन समितिले कालीगण्डकी, कागखोला र लार्जुङखोलाबाट अवैध तरिकाले ढुङ्गा, गिट्टी, बालुवाको उत्खनन तथा ओसारपसार गरेका ट्याक्टर, टिप्पर र एक्साभेटरलाई नियन्त्रणमा लिई जरिबाना गरेको छ । 

थासाङ गाउँपालिका कोबाङको लार्जुङखोलाबाट अवैध उत्खननमा संलग्न एक टिप्पर, एक्साभेटर र ट्याक्टरलाई १९ हजार रुपियाँ जरिबाना, घरपझोङ गाउँपालिका–४ जोमसोम क्षेत्रबाट तीन वटा ट्याक्टरलाई तीन हजार रुपियाँ जरिबाना र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागखोला कालीगण्डकीबाट दुई ट्याक्टरलाई दुई हजार रुपियाँ जरिबाना गरिएको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताले बताउनुभयो । 

प्रमुख गुप्ताले भन्नुभयो, “स्थानीय संरक्षण समितिबाटै जरिबाना गरिएको छ । नदीबाट उत्खनन गर्न प्रतिबन्ध लगाएको अवस्थामा अवैध निकासीलाई रोक्न नियमित अनुगमन भइरहेको छ ।” प्रमुख गुप्ताले खोला, नदीबाट गिट्टी, ढुङ्गा, माटो, बालुवा अवैध उत्खनन गर्ने र बिक्रीवितरण गरेको स्थानीय समुदायको सूचनाले कारबाहीका लागि सहज भएको बताउनुभयो ।  नदीजन्य पदार्थ उत्खनन हुने गरेकाले सम्भावित क्षेत्रमा प्रहरी प्रशासनसहित निगरानी बढाउन थालेको प्रमुख गुप्ताको भनाइ छ । 

पहिलो पटक नियन्त्रणमा लिइएकालाई सचेतसहित जरिबाना गरिएको र दोहोरिएमा थप कडाइ गरिने जानकारी उहाँले दिनुभयो । एक्याप क्षेत्राधिकारको कालीगण्डकी नदी, सहायक खोलामा उत्खनन तथा स्थानीय उपयोग दस्तुर उठाउनका लागि सम्बन्धित कार्यालयको रोहबरमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाबाट अनुमति लिने गरिन्छ ।