• १२ भदौ २०८२, बिहिबार

ऊर्जा परियोजना पेस गर्न कोरियाको आग्रह

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ १२ गते । नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताई योङले कोरियामा आयोजना हुन लागेको विश्वव्यापी पूर्वाधार सम्मेलनमा नेपालका ऊर्जा परियोजनाको प्रस्ताव पेस गर्न आग्रह गर्नुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र योङबिच बुधबार भएको भेटवार्तामा उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

यही भदौ ३१ देखि असोज २ सम्म कोरियामा ग्लोबल इन्फ्रास्ट्रक्चर कर्पोरेसन कन्फरेन्स २०२५ आयोजना गरिएको छ । 

भेटमा राजदूत योङले हालसम्म ३५ देशले उक्त कार्यक्रममा सहभागिता सुनिश्चित गरिसकेको जानकारी दिँदै नेपालका ऊर्जा परियोजनालाई अन्तर्राष्ट्रिय जगत्मा प्रस्तुत गर्न यो सम्मेलनलाई महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्न सकिने उल्लेख गर्नुभयो । 

सो अवसरमा अप्पर त्रिशूली–१ जलविद्युत् आयोजना र प्रसारण लाइन आयोजनासहित नेपालमा कोरियाली सहयोगमा अघि बढिरहेका विभिन्न परियोजनाबारे विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ । मन्त्री खड्काले नेपालमा भइरहेको कोरियाली सहयोग र लगानीप्रति आभार व्यक्त गर्दै प्रसारण लाइन र अन्य ऊर्जा पूर्वाधार परियोजनामा भइरहेको सहकार्यलाई सकारात्मक रूपले अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा कोरियाको थप लगानी आकर्षित हुने विश्वास व्यक्त गर्नुभयो । दुवै पक्षले सो सम्मेलनमार्फत नेपालको जलविद्युत् क्षेत्रका सम्भावना तथा लगानी अवसरलाई उजागर गर्न सकिने र यसले द्विपक्षीय ऊर्जा सहकार्यलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरेका छन् ।